जनशक्ति अभावले बागमती प्रदेश सरकार सोचेजती अगाडी बढ्न सकेनः मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जनशक्ति अभावका कारण प्रदेश सरकार सोचेजती अगाडी बढ्न नसकेको गुनासो गर्नुभएको छ ।
अन्तर प्रदेश लोकसेवा आयोगको प्रथम कार्यशाला गोष्ठीको हेटौंडामा उद्घाटन गर्दै उहाँले काम गर्न नसक्नु, पैसा खर्च गर्न नसक्नु कर्मचारी अभावका कारण भएको बताउनुभयो ।
अव लोकसेवा आयोगले कर्मचारी भर्ना गर्नुपर्ने अभियानमा आफुहरु लागेको भन्दै मुख्यमन्त्री पौडेलले सवै प्रदेशमा एकैसाथ एकरुपताका आधारमा कर्मचारी भर्ना गरिनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो–'संघीय निजामती ऐन पनि बन्दै गर्छ, प्रदेशमा पनि कर्मचारी भर्ना प्रक्रिया थाल्दै गर्नुपर्छ ।' अहिलेसम्म लोकसेवा आयोगले आफ्नो गरिमा कायम राखेको भन्दै मुख्यमन्त्रीले प्रदेशका लोकसेवा आयोग पनि जनताले विश्वास गर्ने आयोग बन्नुपर्ने बताउनुभयो ।
प्रदेश लोकसेवा आयोग गठन भएका क्षेत्रबाट आयोगका अध्यक्ष, सदस्यहरु, प्रदेशका प्रमुख सचिव सहितको सहभागितामा गोष्ठी भएको हो, जनपत्रमा खबर छ ।
बागमती प्रदेश लोकसेवा आयोगका अध्यक्ष सुरेश मान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठ, काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, बागमती प्रदेशका प्रमुख सचिव तोयम राय, प्रदेशसभाका सचिव शामशरण घिमीरे, विभीन्न प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्यहरु, बागमती प्रदेश सरकारका सचिवहरु, सुरक्षा निकायका प्रमुखहरु लगायतकाको उपस्थिती रहेको थियो ।
बागमती प्रदेश लोकसेवा आयोगका सदस्य शर्मिला न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रममा आयोगका अर्का सदस्य शुर्दसन ढकालले कार्यक्रमको उदेश्यमाथी प्रकास पार्नु भएको थियो ।
लोकसेवा आयोगका पूर्व सदस्य डाक्टर गोविन्द कुसुमले लोकसेवा आयोगका काम, कर्तव्य, अधिकार र अवगर्ने सक्ने कामका विषयमा सहजीकरण गर्नु भएको थियो ।