ठाकुर ज्ञवाली प्रहरी महानिरीक्षक नियुक्त
नेपाल प्रहरीको महानिरीक्षकमा ठाकुर ज्ञवाली नियुक्त हुनुभएको छ । आज दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले ज्ञवालीलाई नेपाल प्रहरीको महानिरीक्षक बनाउने निर्णय गरेको जनाइएको छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि आजदेखि सकिएसंगै महानिरीक्षकमा ज्ञवाली नियुक्त हुनुभएको हो । खनालसँगै तीन जनै एआइजीले समेत अवकाश पाएपछि प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट सरकारले सिधै आइजिपी नियुक्ति गरेको हो ।
ज्ञवाली खनालकै वैकल्पिक ब्याचका अधिकारी हुनुहुन्छ । आज बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा गृहमन्त्री रामबहादुर थापाले ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने प्रस्ताव निर्णयार्थ पेश गर्नुभएको थियो ।
२०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएका ज्ञवाली विद्यमान ३० वर्षे सेवाअवधि कायमै रहे पाँच महिना प्रहरी महानिरीक्षकको कुर्सीमा रहनुहुनेछ ।
एक नम्बर प्रदेशको प्रहरी प्रमुख रहेकै बखत उहाँ तीस वर्षे सेवाअवधिका कारण खनालको ब्याच विदा भएपछि नयाँ प्रहरी महानिरीक्षक बन्नुभएको हो ।