पूर्वाग्रह राखेर अख्तियारमा उजुरी दिने क्रम बढेको प्रति मुख्यमन्त्री पौडेलको चिन्ता

छहारी संवाददाता
माघ २८, २०७६

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अहिले आग्रह पूर्वाग्रह राखेर उजुरी दिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत असन्तुष्टिका कारण फसाउने नियतले पनि उजरी दिने क्रम बढ्दा समस्या भइरहेको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियताको प्रसंशा गर्दै मुख्यमन्त्री पौडेलले तर फोन र म्यासेजकै आधारमा कसैलाई पक्राउ गर्न नहुने सुझाव दिनुभयो ।

अख्तियारको गतिविधी अझ बलियो पार्नु पर्नेमा कुनै द्विधा नरहेको बताउँदै उहाँले भन्नुभयो – "नराम्रो गतिविधी गरेको सूचना म आफैंले अख्तियारलाई दिने गरेको छु तर कतिपय अवस्थामा पूर्वागही ढगले उजुरी पर्छन्, त्यसमा भने विचार बिमर्स गरेर मात्रै निर्णयमा पुग्दा राम्रो हुन्छ ।"

अहिले कर्मचारीमा त्रासको वातावरण बनिरहेको भन्दै मुख्यमन्त्री पौडेलले कर्मचारीहरुले कामै समेत गर्न नमान्ने गरेको बताउनुभयो । भ्रष्टाचारमुक्त समाज निर्माण भए मात्रै देशमा शुसासन कायम हुने उहाँको भनाई छ ।

भ्रष्टाचारबाट कोही मुक्त नरहेको बताउँदै उहाँले भन्नुभयो – "घुस लिनु दिनु मात्रै भ्रष्टाचार होइन, काममा ठगी गर्नु, समयको दुरुपयोग गर्नु, आफ्नो दायित्व निर्वाह नगर्नु जस्ता कार्य पनि भ्रष्टाचार हुन् ।"

अहिले अख्तियारको सक्रियता बढेकाले भ्रष्टाचारका घटना धेरै देखिएको मुख्यमन्त्री पौडेलको भनाई छ । उहाँले भन्नुभयो–"हिजोका दिनमा सबैको मिलेमतोमा घटना लुकाइन्थ्यो अहिले उजागर गरिन्छ त्यसैले पनि घटना बढेको देखिन्छ ।"

आायेगको कार्यालय  हेटौडाका प्रमुख (सहसचिव) शिव कुमार कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, गाउँपालिका अध्यक्षहरु, विभिन्न निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, स्थानिय संचारकर्मी लगायतको लगायतको आतिथ्यता रहेको थियो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*