बागमती प्रदेश सरकार चलचित्र सम्वन्धी कानून निर्माणको तयारीमाः कानूनमन्त्री जमकट्टेल

छहारी संवाददाता
माघ २७, २०७६

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेलले चलचित्र सम्वन्धी प्रदेश कानून निर्माणको तयारीमा रहेको बताउनुभएको छ ।

चलचित्र पत्रकार संघ मकवानपुरको आयोजनामा मोफसलमा नेपाली चलचित्रको बिस्तारमा चलचित्रकर्मी तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा उहाँले जेष्ठ पत्रकार र महिला पत्रकारको हितका निम्ती प्रदेश सरकारले काम गर्न लागेको बताउनुभयो ।

संघीय तहमा पत्रकार कल्याणकारी कोष भन्दा आफुहरुले बनाएको कार्यविधि महत्वपूर्ण रहेको उहाँको भनाई छ । प्रदेशकै महत्वपूर्ण जिल्लाको रुपमा मकवानपुरलाई लिइने गरेको भन्दै उहाँले कानून निर्माण नगरी पैसा खर्च गर्न समस्या हुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसदबाट कानून पास भएर खर्च गर्दा पनि अर्थ मन्त्रालयले पैसा खर्च गर्न दिन पनि समस्या छ ।’

कार्यक्रममा चलचित्र विकास बोर्डका पूर्व अध्यक्ष राजकुमार राई, चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, चलचित्र विकास बोर्डका संस्थापक अध्यक्ष कुमार अधिकारी, ब्रोकाष्टिङ एशोसिएसनका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघका बागमती प्रदेशका अध्यक्ष प्रताप विष्ट, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा तत्कालिन चलचित्र विकास बोर्डका अध्यक्ष स्वर्गिय केसव भट्टराईका परिवारलाई चलचित्र पत्रकार संघ मकवानपुरले एक लाख एक हजार रुपैयाँको चेक आज हस्तान्तरण गरेको थियो । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको हो ।

यसैबीच, चलचित्र पत्रकार संघ मकवानपुरको चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले मणिराज गौतमको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कपिल खड्का, सचिवमा श्रीराम अर्जुन दाहाल, कोषाध्यक्षमा मनोज देवकोटा र सहसचिवमा रविन्द्र गौतम चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा सन्नु रिजाल, दर्शन क्षेत्रि, अमृता पराजुली र दिपक सिंह रुम्बा सर्वसम्मत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*