हेटौडा उपमहानगरपालिकालाई एक वर्ष भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने सामुहिक प्रतिबद्धता (तस्विरहरु)
बागमती प्रदेशको राजधानी हेटौडा उपमहानगरपालिकालाई एक वर्ष भित्र बालमैत्री स्थानीय शासन घोषणा गरिने भएको छ ।
बालमैत्री स्थानीय शासन अबलम्वन सम्बन्धी सरोकारवाला बीच हेटौडामा भएको दुईदिने अभिमुखीकरण कार्यक्रममा उपस्थित जनप्रतिनिधीहरुले २०७७ साल माघ महिना भित्र हेटौडा उपमहानगरपालिकालाई बालमैत्री स्थानिय शासन घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर तथा सपथ खाएको हन् ।
हेटौंडा उपमहानगरपालिका, नगरकार्यपालिकाको आयोजनामा ‘बालबालिकामा गरेको लगानी, ल्याउँछ सुनौलो बिहानी’ भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा बालबालिकाको क्षेत्रमा प्रगति सुनिस्चित गर्न हालसम्म भएका प्रयासलाई समिक्षा गर्दै हेटौडा उपमहानगरपालिकालाई बालमैत्री नगरको रुपमा विकास गर्न सरोकारवालाहरु बीच छलफल गरिएको थियो । छलफलबाट कार्ययोजना निर्माण गरेर समन्वय र सहकार्यबाट बालमैत्री स्थानीय शासन अवलम्वन गर्ने काम अगाडी बढाउन लागिएको हो ।
कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वयसमिती मकवानपुरका प्रमुख रघुनाथ खुलालले भौतिक पूर्वाधार निर्माण गर्नु मात्रै विकास नरहेको भन्दै सामाजिक तथा मानविय विकास जरुरी रहेको बताउनुभयो । उहाँले हरेक व्यक्तिको सोचाई, बुझाईमा आउने परिवर्तन पनि विकासको महत्वपूर्ण पाटो रहेको बताउनुभयो ।
कार्यक्रममा बालमैत्री स्थानिय शासन तालिम राष्ट्रिय सहजकर्ता विष्णुप्रसाद चौवेले सहजीकरण गर्नुभएको थियो ।
हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको अध्यक्षतामा भएको कार्यक्रममा उपमेयर मिना कुमारी लामा, हेटौंडाका वडा अध्यक्षहरु, उपमहानगरपालिकाका महासाखाका प्रमुख, शाखा प्रमुख, विद्यालय, सामाजिक संघसंस्था, महिला तथा बालबालिकाको क्षेत्रमा कार्यरत संघसंस्था लगायतको उपस्थिती रहेको थियो ।