प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक राम्रोः सभामुख श्रेष्ठ
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशभित्र सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधयक राम्रो रहेको बताउनुभयो ।
बागमती प्रदेशको प्रदेश मामिला समितिले आज आयोजना गरेको विधयक सम्बन्धमा अन्तरक्रिया कार्यक्रममा उहाँले विधयक राम्रो मात्र बनेर नहुने भन्दै कार्यान्वयन पक्ष राम्रो हुनुपर्ने बताउनुभयो ।
कानून निर्माणकै चरणमा भएकाले यसको छलफल व्यापक चलाउनु पर्ने बताउँदै उहाँले भन्नुभयो– ‘कानून तल मात्र बनेर नभइकन संघबाट बनेका विधयक पनि संसोधन हुन जरुरी छ ।’
कार्यक्रममा प्रदेश मामिला समितिका सभापति माधव प्रसाद पौडेलले यो विधयक प्रदेशको अहिले सम्मको महत्वपूर्ण विधयक रहेको बताउनुभयो । विधयकलाई संसदमा कुन रुपमा प्रस्तुत गर्ने भन्ने विषयमा सवैको छलफल राखिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, प्रदेशका नेकपाका प्रमुख सचेतक रामेश्वर फूयाल, प्रदेशका सांसदहरु, प्रमुख सचिव तोयम राय, विषयगत समितिका सभापतिहरु, स्थानीय तहका प्रमुख तथा प्रतिनिधिहरु, अधिकारकर्मी, उपभोक्ताकर्मी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव पूर्णचन्द्र भट्टराई, संबिधान सभाका सदस्य रमेश लेखकले सहजीकरण गर्नुभएको थियो ।