हेटौडामा तरकारी बिक्रि नभएर फाल्नु पर्ने अवस्था (तस्विरहरु)
सम्झना घिमिरे / बागमती प्रदेशको राजधानी हेटौडामा अहिले तरकारीको मुल्य अत्यधिक घटेको मात्र छैन, बिक्रि नभएर त्यसै खेर फाल्नु पर्ने अवस्था छ ।
अन्य बस्तुहरुमा जस्तै तरकारीको मुल्य बृद्धि हुँदा दिनहुँ अनुगमन गर्न निस्कने निकाय, किसानले उत्पादन गरेको तरकारी कुहिएर जाँदा कानमा तेल हालेर बसेको छ ।
न त बजारको व्यवस्थापन छ न त किसानको श्रमको मुल्यांकन छ । पछिल्लो केहिदिन यता हेटौडामा तरकारीको मुल्य अत्याधिक घट्दा किसान मारमा परेका हुन् ।
मकवानपुरको मनहरी गाउपालिकाको हाँडिखोला, भिमफेदी गाउँपालिका, थाहानगरपालिका, कैलाश गाउँपालिकाका किसानहरुले उत्पादन गरेको तरकारी बोराका बोारा सब्जी मण्डिमा थुप्रो लागेको छ तर किन्ने कोहि छैन ।
आजको तरकारी खुद्रा मुल्य साग १० रूपैया मुठा, गोलभेडा २५ रुपैँया किलो रहेको छ भने अधिकांश तरकारीहरु २० रुपैँया भन्दा कम मुल्यमा पाईरहेका छन् । तर किन्न व्यापारीहरु पाट्टफुट्ट मात्रै आउछन् । यता खरिद गर्ने व्यापारीले भने खुद्रा मुल्य मनलाग्दी राखेर बेचिरहेका छन् ।
जिल्लामा उत्पादन हुने तरकारी यहि खपत हुन भारतबाट तरकारी आयात रोक्ने हो भने केहि हदसम्म भएपनि किसानलाई राहत हुने देखिन्छ ।
हुन त हेटौडा नगरपालिकाले नगरका विभिन्न स्थानमा हाट बजार स्थापना गर्ने तथा घुम्ति तरकारी गाडि सञ्चालन गर्ने योजना ल्याएको छ । यो योजना तुरुन्त लागू गर्ने हो भने किसान र उपभोक्ता बिचौलियाको चंगुलबाट मुक्त हुने थिए ।