कोरोना भाइरस फैलिन नदिन हेटौडा अस्पतालले थाल्यो सतर्कता 

छहारी संवाददाता
माघ २२, २०७६

देशका विभिन्न अस्पतालमा जस्तै मकवानपुरको हेटौडा अस्पतालले पनि नोबेल कोरोना भाइरस फैलिन नदिन सतर्कता अपनाएको छ ।

अस्पतालमा आउने बिरामीमा भाइरसको लक्षण देखिए तत्काल छुट्टै राखेर उपचार गर्ने व्यवस्था गरेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर प्रविण श्रेष्ठले जानकारी दिनुभयो ।   

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्देशन अनुसार अस्पतालले दुई वटा कोठा छुट्याएको छ । दैनिक पाँच सयको हाराहारीमा बिरामी आउने यस अस्पतालमा ओपिडिमै सबै बिरामीको उपचार गर्दा भाइरस फैलन सक्ने भन्दै  छुट्टै कोठाको व्यवस्था गरेको उहाँले बताउनुभयो । 

यद्यपी अहिलेसम्म आएका बिरामीमा कोरोना भाइरसको लक्षण नदेखिएको श्रेष्ठले बताउनुभयो । बिरामीमा भाइरसको लक्षण देखिए तत्काल रगतको नमूना सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाईने अस्पतालले जनाएको छ । 

डाक्टर श्रेष्ठले अस्पतालमा आउने अन्य बिरामीलाई भाइरस सम्बन्धी सचेत गराउने गरेको बताउँदै पशुपक्षीको सम्पर्कमा नरहन, नियमित रुपमा साबुनपानीले हात धुन तथा निरन्तर रुघाखोकी लागे तुरुन्त अस्पताल आउन सर्वसाधरणलाई आग्रह गर्नु भएको छ ।

चीनबाट फैलिएको कोरोना भाइरस अहिले विश्वका अन्य देशहरुमा समेत भेटएपछि सतर्कता अपनाउन थालिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*