तेस्रोलिङ्गी अजिता भुजेलका हत्यारा भापु र घनटाउके सार्वजनिक

पैसामा कुरा नमिलेपछि हत्या गरेको प्रारम्भिक बयान
छहारी संवाददाता
माघ २१, २०७६

तेस्रोलिङ्गी अजिता भुजेलका हत्यारा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आज पत्रकार सम्मेलन गरी हत्यामा संलग्न दुई जना सहित हत्यापछि अजिताको मोवाईल प्रयोग गर्ने तीन जनालाई सार्वजनिक गरेको हो ।

यहि माघ ४ गते हेटौडाको क्याम्पाडाँडामा अजिता मृत फेला परेकी थिईन् । त्यसपछि २ सय ५० जना भन्दा बढी शंकास्पद व्यक्तिलाई सोधपुछ तथा अनुसन्धानपछि अन्ततः हत्यारा पत्ता लागेको जिप्रका मकवानपुरका एसपी सुशिल सिंह राठौंरले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा अजिताको मोवाईल हेटौडा ११ बस्ने २० वर्षकी एलिसा पाख्रिनले प्रयोग गरेको खुलेपछि संलग्न हत्यारा पक्राउ गर्न सफल भएको एसपी राठौरले बताउनुभयो । एलिसालाई हेटौडा ४ बस्ने २४ वर्षका आशिस बलले अजिताको मोवाईल दिएको भन्ने सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा हत्यारा पत्ता लागेको उहाँको भनाई छ ।

आशिसले हेटौडा १४ बस्ने २१ वर्षका ह्याक्चर भनिने बुद्ध लामासंग उक्त मोवाईल लिएको पत्ता लागेपछि, लामालाई प्रहरीले चितवनबाट पक्राउ गरेको थियो ।

बुद्ध लामाको बयानका आधारमा हत्यारा हेटौडा ९ बस्ने १८ वर्षका भापु भनिने सिमोन परियार र हेटौडा ४ बस्ने २५ वर्षका घनटाउके भनिने शुशिल थापामगरलाई पक्राउ गर्न सफल भएको एसपी राठौरले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

उनिहरुले तेस्रोलिङ्गी अजितासंग शारिरिक सम्पर्क राख्ने क्रममा पैसामा कुरा नमिले पछि हत्या गरेको प्रहरीलाई प्रारम्भिक बयान दिएका छन् ।

सिमोन र शुशिलले राती करिब १ बजे हेटौडा ११ थानाभर्याङबाट ७ हजारमा कुरा छिनेर अजितालाई ना ६ ख ६५२७ नम्बरको आइचर ट्रकमा ल्याइ शारिरिक सम्पर्क राखेको बयान दिएका छन् । त्यसपछि अजिताले पैसा बढी मागेकाले तारको प्रयोग गरी घाटी अठ्याएर ट्रक भित्रै उनको हत्या गरेर क्याम्पाडाँडामा फालेको उनिहरुले बयान दिएको एसपी राठौरले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धान भइरहेको र प्रमाणित भए मुलुकी अपराध ऐन २०४७ को परिच्छेद १२ को ज्यान सम्बन्धी कसुरमा दुबैलाई जन्मकैद सम्म हुने एसपी राठौरले बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र अपराध अनुसन्धान महाशाखा टेकु, काठमाडौंको टोलीले घटनाको संयक्त रुपमा अनुसन्धान गरेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*