कोरोना भाइरसबाट २१३ चिनियाँको मृत्यु, विश्व स्वास्थ्य आपतकाल घोषणा
चीनमा वुहान कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुइ सय १३ पुगेको छ । चीनभरि उक्त भाइरसबाट नौ हजार ६ सय ९२ जना संक्रमित भएका छन् ।
झन्डै एक महिनाअघि वुहानबाट सुरू भएको कोरोना भाइरस अफ्रिकाबाहेकका सबै महादेशमा देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्व आपतकाल घोषणा गरेको छ । कमजोर स्वास्थ्य प्रणाली भएका देशमा रोग फैलन सक्ने सम्भावना अधिक भएकाले डब्लुएचओले आज विश्व आपतकाल घोषणा गरेको हो ।
यसअघि डब्लुएचओले कोरोना भाइरसका कारण आपतकाल घोषणा गर्नुपर्ने अवस्था नभएको बताएको थियो । सन् २००५ मा डब्लुएचओलाई विश्व आपतकाल घोषणा गर्ने अधिकार दिएपछि आपतकाल घोषणा भएको यो छैठौं पटक हो ।
चीनबाहिरका धेरैजसो संक्रमितले वुहानमा यात्रा गरेको वा त्यहाँबाट आएकासँग सम्पर्क भएर सरेको देखिएको छ ।
डब्लुएचओले कोरोना भाइरस फैलिन सक्ने देशले आवश्यक तयारी, संक्रमण फैलिन नदिन सही सूचना र भ्याक्सिन बनाउने क्रमलाई तीव्रता दिन पनि सुझाव दिएको छ तर यात्रा र व्यापारमा कडा प्रतिबन्ध लगाउनु आवश्यक नभएको उसको ठहर छ ।
यसैबीच संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई चीन भ्रमण नगर्न भनेको छ भने कैंयौं एयरलाइन्सले चीनका विभिन्न सहरमा आफ्ना उडान रद्द गरेका छन् । सीआईएन