हेटौडामा झमकमाया स्मृति कप अन्तर विद्यालय टि–१० क्रिकेट प्रतियोगिता हुने
हेटौँडामा यहि माघको २७ गतेदेखि झमकमाया स्मृति कप अन्तर विद्यालय टि–१० क्रिकेट प्रतियोगिता हुने भएको छ ।
हेटौंडामा संचालित सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीका संस्थापक अध्यक्ष ऋषिराम आचार्यकी आमा स्व झमकमायाको स्मृतिमा अन्तर विद्यालय टि–१० क्रिकेट प्रतियोगिता गर्न लागिएको विद्यालयका सहायक प्रध्यानाध्यापक एसके निधनले जानकारी दिनुभयो ।
हेटौँडाको न्युज क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा मदन भण्डारी स्पोर्ट एकेडेमी मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको जानकारी दिइएको हो ।
प्रतियोगितामा विजेता टिमलाई नगद २० हजार र उपविजेता टिमलाई नगद १० हजार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजक सोलीड्यारिटी इन्टरनेशनल एकेडेमीले जनाएको छ ।
हुप्राचौरमा हुने प्रतियोगितामा मकवानपुरका सामुदायिक विद्यालय र नीजि विद्यालयले सहभागिता जनाउन सक्ने छन् ।
पत्रकार सम्मेलनमा विद्यालयका संस्थापक ऋषिराम आचार्यले विद्यालयले अभिभावक दिवसको अवसरमा पारेर एक जना पत्रकारलाई पुरस्कृत गर्ने जानकारी दिनुभयो ।
सोलीड्यारिटी पत्रकारिता पुरस्कार यसपट पत्रकार महिला सरिता दाहाललाई प्रदान गर्ने उहाँले बताउनुभयो । यसअघि वरिष्ठ पत्रकार प्रताप विष्टलाई उक्त पुरस्कार प्रदान गरिएको थियो ।
पत्रकार सम्मेलनमा स्पोर्ट एकेडेमीका केन्द्रीय सदस्य नविन सिग्देल, जिल्ला अध्यक्ष निरजसिंह ठकुरी लगायतको उपस्थिती रहेको थियो ।