नागरिक समाजले बुझायो मनहरी गाँउपालिकालाई ध्यानाकर्षण पत्र
नागरिक समाज मञ्च मकवानपुरले आज मनहरी गाँउपालिकालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
गाउपालिकाले विपद व्यवस्थापनमा आर्थिक वर्ष २०७६र७७ मा पचास लाख रकम विनियोजन गरेपनि उक्त क्षेत्रमा हालसम्म न्युनस्तरको मात्र काम भएको भन्दै नागरिक समाज मञ्च मकवानपुरले ध्यानाकर्षण पत्र बुझाएको छ ।
अतिशिघ्र वास्तविक वाढि प्रभावितहरुको यकिन गरि वस्तिको व्यवस्थापन गर्नुपर्ने, जोखिमयुक्त वस्तिको नक्साङ्कन गरि विस्तृत योजना वनाउनुपर्ने, विपद व्यवस्थापन कोषको व्यवस्था गरिनुपर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ ।
गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीलाई ध्यानाकर्षण पत्र बुझाउँदै मञ्चकी संयोजक रमिला सापकोटाले कृषि सम्वन्धि विविध अनुदान कार्यक्रमहरुबाट गैरकृषकहरु नै वढि लाभान्वित भएको देखिएकोले वास्तविक कृषक कार्यक्रमबाट वञ्चित हुनु पर्ने आउन नदिन सचेत गराउनुभयो ।
गाउपालिकावाट सुनाचुरि एकीकृत कृषक समुहलाई यसै वर्ष अनुदान स्वरुप दुई लाख रकम विनियोजन गरेपनि उक्त रकम वास्तविक किसानसम्म नपुगेको अनुगमनका क्रममा देखिएको सापकोटाले बताउनुभयो ।
संयोजक सापकोटाले किसानहरुको लागि दिइने अनुदान सम्बन्धी सूचना समेत वास्तविक किसानले नपाएको गुनासो गरेको बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै गाँउपालिकाका अध्यक्ष उप्रेतीले आफुहरुसंग कृषिविज्ञ नभएकाले कृषिका योजनाहरु अगाडी बढाउन नसकिरहेको भन्दै दक्ष तथा अनुभवी कृषिविज्ञ ल्याउने तयारी गरीरहेको बताउनुभयो ।
उहाँले सहकारी मार्फत दुग्ध विक्री वितरण गर्ने किसानहरुलाई गाँउपालिकाले प्रोत्साहन स्वरुप प्रतिलिटर एक रुपैया कृषकको खातामा जम्मा गरिदिने व्यवस्था गरेको बताउनुभयो ।
अध्यक्ष उप्रेतीले नागरिक समाज मञ्च मार्फत आएका सुझावलाई मनन् गरी आगामी दिनमा किसानको हित हुने काममा अझ बढी जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा मनहरी गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतको उपस्थिती थियो ।