राष्ट्रपतिबाट प्रजातान्त्रिक आन्दोलनका चार अगुवाको प्रतिमा अनावरण

छहारी संवाददाता
माघ १४, २०७६

राष्ट्रपति विद्यादेवी भण्डारीले बागमती प्रदेशको राजधानी हेटौंडामा आज प्रजातान्त्रिक आन्दोलनका चार अगुवाको पूर्णकदको प्रतिमा अनावरण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले  हेटौंडा उपमहानगरपालिका–११ स्थित सहिद स्मारकमा रहेको प्रजातान्त्रिक पार्कमा निर्मित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइराला, लौहपुरुष गणेशमान सिंह र पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको प्रतिमा अनावरण गर्नुभएको हो ।

देशकै महत्वपुर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको सहिद स्मारकमा विभिन्न कालखण्डका सहिदको प्रतिमा राखिएको छ ।

सहिद सप्ताहको सातौं कार्यक्रम अन्तरगत आज प्रजातान्त्रिक पार्कमा निर्माण गरिएको प्रतिमाको अनावारण गर्न राष्ट्रपति भण्डारी हेटौंडा आउनुभएको हो । सहिद स्मारक विकास समितिले करिव डेढ करोड रुपैयाँमा प्रतिमा निर्माण गरेको जनाएको छ ।

यसअघि सहिद स्मारकमा विभिन्न कालखण्डका सम्पूर्ण सहिदलाई एकै थलोमा स्मरण गर्न सहिद स्मृति स्तम्भ निर्माण गरिएको छ ।

करिब एक करोढ ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको यस ६५ फिट अग्लो स्तम्भको पनि राष्ट्रपति भण्डारीले अनावरण गर्नुभएको हो । साथै स्मारकमा विभिन्न जनसङ्घर्षमा सहिद भएका १२ सहिदको मुखाकृत कुदिएको एउटै ढुङ्गा समेत रहेको छ ।

२०४६ सालको जनआन्दोलन पश्चात २०४७ साल श्रावण ७ गते उजाड डाँडोमा वृक्षारोपण गरी सहिद स्मृति बाटिका नामाकरण गरिएको थियो । २०५२ सालमा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीबाट उद्घाटन भएको सहिद स्मारक अहिले देशकै नमुना सहिद केन्द्र बनेको छ ।

सहिद स्मारकमा वर्षेनी ५ लाख भन्दा बढि आन्तरिक र बाह्य पर्यटक आउने गरेको समितिले जनाएको छ । स्मारकमा यसअघि नै मदन भण्डारीको प्रतिमा निर्माण भइसकेको छ ।

सहिद सप्ताह अन्तर्गत प्रजातान्त्रिक पार्क अनावरण तथा स्मारक स्थापनाको २५ औं वार्षिकोत्सवका अवसरमा आयोजत कार्यक्रममा प्रदश प्रमुख विष्णु प्रसाई, मुख्यमन्त्री डोरमणी पौडेल, सभामुख सानुकुमार श्रेष्ठ, पर्यटन वन तथा वातावरण मन्त्री अरुण नेपाल, सामाजिक विकास मन्त्री युवराज दुलाल लगायत मन्त्रीहरु, राजनीतिक दल, विभिन्न निकायका कर्मचारी, स्थानिय लगायतको उपस्थिती रहेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*