हेटौंडामा पद यात्राबाट सहिद सप्ताह शुभारम्भ
हेटौंडामा शुक्रबार पद यात्रा गरी सहिद सप्ताहको शुभारम्भ गरिएको छ । माघ १० अर्था आजेदेखि १६ गते सम्म मनाईने सप्ताहव्यापी कार्यक्रमको आज बिहान बागमती प्रदेशका मुख्यमन्त्री एवं स्मारक विकास समितिका अध्यक्ष डोरमणी पौडेलले शुभारम्भ गर्नुभएको हो ।
हेटौंडाको बुद्धचोकबाट सुरु भएको पदयात्रा करीब ५ किलोमिटर टाढा सहिद स्मारकमा पुगेर समापन भएको थियो । यसैगरी दिवसकै अवसरमा आजै मकवानपुरगढी दरवारमा २५७ औ विजय उत्सव मनाईएको छ ।
सप्ताहव्यापी कार्यक्रम अन्तरगत माघ ११ गते बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम गरिने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवं स्मारक विकास समितिका सदस्य रघुनाथ खुलालले जानकारी दिनुभयो ।
यस्तै भोली दिउँसो १२ः३० बजे कलेज स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गरिने छ, साझा सन्देशले लेखेको छ ।
त्यस्तै माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा सहिद स्मारकमा निर्माण भएको प्रजातान्त्रीक पार्कको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । माघ १४ गते नै विभिन्न २० वटा देशका राजदुतहरु समेत कार्यक्रममा सहभागि हुने जिसस प्रमुख खेलालले जानकारी दिनुभयो ।
माघ १५ गते साहित्यीक गजल वाचन कार्यक्रम र माघ १६ गते मुल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम गरी सहिद सप्ताहको कार्यक्रम समापन गरिने छ ।
सहिद सप्ताहसंगै पर्यटन वर्ष २०२० सफल पार्न विभिन्न कार्यक्रमहरुको समेत आयोजना गरीएको छ । मकवानपुरका पर्यटकिय क्षेत्रहरु सहिद स्मारक, कुष्माण्ड सरोवर, मकवानपुर गढी, ईन्द्रसरोवर, दामन भ्युटावर, चित्लाङ भेडा फार्म, भीमफेदी हात्तिसार, हेटौंडाको जुरेथुम, हर्नामाडी मुर्ति बगैचा, मनकामना मन्दिर, अशोक चैत्य लगायत जिल्लाका विभिन्न धार्मिक तथा अन्य पर्यटकीय गन्तव्यहरुको समेत प्रचारप्रसार गरीने भएको छ ।