मकवानपुरगढीले गोर्खाली सेनाको वीरता विश्वसामु चिनाएको छः मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले ऐतिहासिक मकवानपुरगढीले तत्कालिन गोर्खाली सेनाको वीरतालाई विश्वसामु परिचित गराएको बताउनु भएको छ ।
शुक्रबार मकवानपुरगढीको २५७ औँ विजयोत्सव समारोहमा उहाँले गोर्खालीको अदम्य साहसका कारण आज विश्वमा नेपालीको शिर उचो रहेको बताउनुभयो । गोर्खाली सेनाले तत्कालीन मुगल बादशाह मिरकासिमको सेनालाई पराजित गरेको ऐतिहासिक दिन गौरवपूर्ण र ऐतिहासिक दिन भएकोले यसको गरीमा कसैले भुल्न नहुनेमा उहाँले जोड दिनुभयो ।
अंग्रेजलाई पराजित गरी गोर्खाली सेनाले नेपाललाई सार्वभौम र स्वतन्त्रता कायम गर्न ठूलो योगदान दिएको मुख्यमन्त्री पौडेलको भनाई छ । २५७ वर्ष अगाडि भएको युद्धमा नेपालीले पराजय व्यहोर्नु परेको भए आज नेपाल स्वतन्त्र देश हुँदैन थियो भन्दै उहाँले आजको दिन नेपाली इतिहासमै महत्वपूर्ण र गौरब गर्ने दिन रहेको बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले भन्नुभयो “ नेपालको पक्षमा लड्दा लड्दै ज्यान गुमाएका ३० जना तथा युद्धमा देशका लागि लडेर बहादुरी प्रदर्शन गरेका सम्पूर्ण वीर योद्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,”
राष्ट्रिय झण्डा झण्डोत्तोलन तथा सेतो हात्तीको शालिक अनावरण
मुगल बादशाह मिरकासिमको नेतृत्वमा रहेको अंग्रेज फौजलाई पराजित गरेको सम्झनामा शुक्रबार मकवानपुरको ऐतिहासिक किल्ला मकवानपुरगढी दरबारमा विजयोत्सव मनाइएको छ ।
मकवानपुरगढी गाउँपालिकाको आयोजनामा भएको विजयोत्सव कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपालको राष्ट्रिय झण्डा झण्डोत्तोलन तथा सेतो हात्तीको शालिक अनावरण गर्नुभयो ।
विसं १८१९ माघ १० गते तत्कालीन अंग्रेज फौजलाई पराजित गरेको दिनको सम्झनामा मकवानपुरगढी किल्लामा केही वर्षदेखि विजयोत्सव मनाउँने गरिएको छ । सरकारले घोषणा गरेको १०० नयाँ पर्यटकीय स्थलमा समावेश भएको मकवानपुरगढी दरबार देशकै सबैभन्दा ठूलो र पुरानो गढी भएको मानिन्छ ।
तीन हजार अंग्रेजको फौजलाई मकवानपुरगढीबाट केही तल शिखरकटेरीबाट अघि बढ्न नदिएर तत्कालीन गोर्खाली फौजले पराजित गरेको थियो। उक्त स्थानमा तत्कालीन मकवानपरे राजा मुकुन्द सेनकी रानीले रानी चौतारा बनाउन लगाएकी थिइन ।
उक्त चौतरा अझै पनि रहेको छ । उक्त स्थानमा अझै पनि पुराना बन्दुकका नाल, गोलाहरू भेटिने गरेको स्थानीय बताउँछन् ।
चारैतिर अग्लो पर्खालले घेरिएको मकुन्दसेनको दरबार छ । त्यही दरबार पृथ्वीनारायण शाहको ससुराली पनि हो। हाल सो दरबारको भग्नावशेष देख्न सकिन्छ।
मकवानपुरगढी किल्ला करिब १३५ रोपनी क्षेत्रमा फैलिएको छ। मकवानपुरगढी दरबार १६१० सालमा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको बताइन्छ । गतबर्ष बिजयोत्सबको कार्यक्रममा राष्ट्रपति बिद्यादेबी भण्डारी सहभागि हुनुभएको थियो ।