वरिष्ठ संगीत साधक भीम विरागको जन्मदिनमा सात जना पुरस्कृत हुने
वरिष्ठ संगीत साधक, कवि एवम् गीतकार भीम विरागको जन्मदिनको अवसरमा विभिन्न क्षेत्रबाट समाजमा योगदान पुर्याउने ७ जना पुरस्कृत हुने भएका छन् ।
भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी यसवर्ष पुरस्कृत गरिने सात जनाको नाम सार्वजनिक गरेको हो ।
विरागको ८६ औँ जन्मजयन्तीको अवसरमा माघ १५ गते पुरस्कार वितरण गरिने प्रतिष्ठानका अध्यक्ष उज्वल शर्मा भण्डारीले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले बागमती प्रदेश स्तरीय ५० हजार १ राशीको हर्षनर बज्राचार्य स्मृति पुरस्कारबाट बरिष्ठ संगीतकार शुभ बहादुर सुनाम पुरस्कृत हुने जानकारी दिनुभयो ।
त्यस्तै, १० हजार राशीको तुलसी माया शिवकुमारी स्मृति सृजनशील नारी पुरस्कार यस वर्ष शान्ति प्रिय वन्दनालाई प्रदान गरिने भएको छ ।
त्यसैगरी भीम मथुरा बाल प्रतिभा पुरस्कारबाट अमन कोईराला पुरस्कृत हुने भएका छन् । यो पुरस्कारको राशी ७ हजार ५ सय रहेको छ, भने यो वर्षको शिला नारी प्रतिभा पुरस्कार छमछमी विजेता सन्ध्या आचार्यले प्राप्त गर्ने भएकी छन् । पुरस्कारको राशी नगद १५ हजार रहेको छ ।
११ हजार १ सय ११ नगदसहितको चिनु कुमारी लामा स्मृति साहित्य पुरस्कार छवि अनित्यलाई दिईने भएको छ । त्यसैगरी नगद १० हजार राशीसहितको मंगलादेवी श्रेष्ठ स्मृति स्वास्थ्य पुरस्कार स्वास्थ्यकर्मी सत्यदेवी जर्घालाई प्रदान गरिने भएको छ ।
नगद १० हजार १ राशीको अजित सेन गुप्ता स्मृति भिन्न क्षमता पुरस्कार प्रविण ग्वाच्छालाई प्रदान गरिने जानकारी दिइएको छ । प्रतिष्ठानले प्रदान गर्दै आएको विजुली माया वन राष्ट्रिय पुरस्कार भने यसवर्ष केहि समयपछि हुने आयोजकले जनाएको छ ।