तेस्रो बागमती गोल्डकप फागुन १ गतेदेखि हुने
बागमती गोल्डकप फुटबल प्रतियोगिताको तेस्रो संस्करण आगामी फागुनमा हुने भएको छ ।
पूर्वी मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो ।
बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष अरुण लामा बलले यसपटक पुरस्कार राशी समेत दुई गुणा बृद्धी गरिएको जानकारी दिँनुभयो ।
हेटौंडाबाट ४५ किलोमिटर पूर्वस्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा प्रथम हुने टिमलाई ६ लाख र दोस्रो हुने टिमलाई तीन लाख रुपैंयासहित शिल्ड, प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
फागुन १ गतेदेखि १० गतेसम्म हुने प्रतियोगितामा ५ वटा ए डिभिजन, प्रदेशस्तरीय र जिल्लास्तरीय ४–४ वटा र आयोजकसहित १० टिमको सहभागिता रहने छ । ६७ लाख ६५ हजार रुपैंया खर्च हुने अनुमान गरिएको प्रतियोगिताको करिब २५ हजार जना दर्शकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५० हजार तथा विधागत उत्कृष्ट ५ खेलाडीलाई जनही १० हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई पाँच हजार रुपैंयासहित मेडल र प्रमाणपत्र दिईने अध्यक्ष बलको बताउनुभयो ।
पत्रकार सम्मेलनमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले अब श्रमिक मात्र होईन गाउँमै फुटबल खेलाडी उत्पादन गरेर विदेश पठाउन सके धेरै कमाई हुने बताउनुभयो ।
प्रतियोगिता मार्फत बागमती गाउँपालिकाको पनि प्रचारप्रसार हुने भन्दै उहाँले प्रतियोगिताका लागि गाउँपालिकाले ३५ लाख रुपैंया सहयोग गर्ने बताउनुभयो ।