तेस्रोलिङ्गी भएकै कारण मृतक अजिताले न्याय नपाउने हुन् कि भन्ने चिन्ता
निलहिरा समाज मकवानपुरकी कार्यक्रम संयोजक किरण थापा सुरजले तेस्रोलिङ्गी भएकै कारण मृतक अजिता भुजेलले न्याय नपाउने हुन् कि भन्ने चिन्ता व्यक्त गर्नु भएको छ ।
अजिताको हत्या भएको आशंकामा प्रहरीले केहि संकास्पद व्यक्तिलाई पक्राउ गरी अनुसन्धान गरिरहेपनि फितलो लागेको भन्दै थापाले अजिताले न्याय पाउने कुरामा शंका व्यक्त गर्नुभयो ।
निलहिरा समाज र फ्रेन्ड्स हेटौँडाले आज हेटौडामा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्यारा उम्कीरहे जस्तै कतै अजिताको हत्यारा पनि उम्कने त होइन भन्ने आशंका व्यक्त गर्नु भएको हो ।
उहाँले तेस्रोलिङ्गी पनि यहि समाजको एक हिस्सा रहेपनि अझै उपहासको पात्र बन्ने गरेको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो– 'अजिताको हत्या भएको चार दिन बितिसक्यो तर सामाजिक क्षेत्रमा, मानवअधिकारको क्षेत्रमा काम गर्ने यहाँका संघसंस्था किन मौन छन् ? के हामी मानिस होइनौं ? हाम्रो मानवअधिकार छैन, हामी बाँच्न पाउने अधिकार छैन ? सबैको लागि आवाज उठाउने ति संघसंस्था तेस्रोलिङ्गीको लागि किन बोल्दैनन् ?'
संयोजक थापाले सरकारले समेत तस्रोलिङ्गीको विषयमा कहिलै गम्भिर भएर नसोचेको गुनासो गर्नु भएको छ । सबै संयन्त्र प्रयोग गरी तत्काल अजिताको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासन र राज्य लाग्नु पर्ने उहाँको माग छ ।
अजिताको बलात्कारपछि निर्मम तरिकाले हत्या भएको भन्दै उहाँले यो विषयमा बागमती प्रदेश सरकार गम्भिर बनोस् भन्ने आग्रह गर्नुभयो । उहाँले प्रदेश सभामा समेत यस्ता विषयले स्थान पाउनु पर्ने माग गर्नुभएको छ ।
अजिताको हत्यापछि आफुहरुले समेत असुरक्षित महसुस गरेको भन्दै थापाले हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न प्रहरी समक्ष अनुरोध गर्नुभयो । उहाँले अनुसन्धानमा जस्तोसुकै सहयोग गर्न आफुहरु तयार रहेको समेत बताउनु भएको छ ।
यसैबीच निलहिरा समाजकी संयोजक थापाले अजिता दुई महिनादेखि एक युवकसँग ‘लिभिङ टुगेदर’को रुपमा बस्दै आएको जानकारी दिनु भएको छ । पत्रकार सम्मेलनमा उहाँले अजिताले नै ति युवकको बारेमा आफुलाई बताएको भन्दै अजिताको हत्या पछि ति युवक पनि नभेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– 'उनीहरु बिहे नगरी आपसी समझदारीमा श्रीमान्–श्रीमती जस्तै गरी संगै बस्दै आएका थिए । तर अजिताको शव फेला परेपछि ति युवक पनि गायव छन् । जुन संकाको विषय हो ।' आफुलाई अजिताले युवकको तस्विर देखाए पनि भेट भने नभएको थापाले बताउनुभयो ।
अजिता बस्ने कोठाको साँचो समेत ति युवकसंग रहेको भन्दै उहाँले प्रहरीको रोहबरमा खानतलासी भइसकेको अजिताको कोठामा पुनः कसैले खोलेर तलासी गरेको भेटिएको बताउनुभयो ।
उहाँले भन्नुभयो– 'पहिले प्रहरीसंग हामी जाँदा अजिताको कोठामा दराज, झ्याल ढोका सबै बन्द गरेर फर्किएको थियौं तर पछि फेरी प्रहरीसंग जाँदा दराज पनि खुल्ला थियो, झ्याल पनि खुल्ला थियो र अजिताले ति युवकसंग छ भनेको साँचो कोठामै भुईमा झरेको भेटियो । त्यसैले कतै यो घटनामा त्यहि व्यक्तिको संलग्नता छ की भन्ने शंका लागेर त्यो व्यक्तिको तस्विर प्रहरीलाई दिएका छौं ।'
मकवानपुरबाट नेपाली नागरिकता लिने पहिलो तेस्रोलिङ्गी अजिता भुजेलको शव यहि माघ ४ गते हेटौडाको क्याम्पाडाँडा ५ को सडक किनारमा फेला परेको थियो । शवको प्रकृति हेर्दा बलात्कार पछि हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान अगाडी बढाएको छ । यद्यपी अजिताको पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ ।