माघ १५ गते पदमपोखरीमा भव्य ल्होछार सांस्कृतिक कार्यक्रम हुँदै
तामाङ समुदायको महत्वपूर्ण पर्व सोनाम ल्होछारको अवसरमा हेटौँडाको पदमपोखरीमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ ।
यहि माघ १५ गते पदमपोखरी चोकमा हुने सांस्कृतिक कार्यक्रममा देशका चर्चित गायक तथा गायीकाहरुको प्रस्तुती रहने ल्होछार कार्यक्रम मुल आयोजक समितिले जनाएको छ । समितिले आज न्युज क्लब नेपालमा पत्रकार सम्मेलन गरी यस बारे जानकारी दिएको हो ।
कार्यक्रममा नेपालका चर्चित गायक गायीकाको प्रस्तुती रहने आयोजक समितिका संयोजक पेम्वा लामाले बताउनुभयो । कार्यक्रममा गायीका कुन्ती मोक्तान, गायक दिपक बज्राचार्य सहित उनको ब्याण्ड सहभगिता हुनेछ ।
यस्तै प्रेम लोप्चन, टिका भोम्जन, किर्तिमान लामा, विशाल थिङ लगाएत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने लामाले बताउनुभयो ।
कार्यक्रममा तामाङ संस्कृतिमा आधारित प्रस्तुतीहरु पनि रहने आयोजकले जनाएको छ । करिब १५ लाख रुपैँया खर्च हुने अनुमान गरिएको कार्यक्रमबाट बचेको रकम सामाजिक कार्यमा खर्च गर्ने उदेश्य रहेको आयोजक समितिका संयोजक लामाले जानकारी दिनुभयो ।
कार्यक्रम भव्य र सभ्य रुपमा सम्पन्न गर्न ३० सदस्यीय मुल आयोजक समिति समेत निर्माण गरिएको छ । कार्यक्रमले पर्यटन वर्ष २०२० लाई समेत सहयोग पुग्ने आयोजकको अपेक्षा छ ।