जिसस मकवानपुरको ६० औं बोर्ड बैठकले महत्वपूर्ण निर्णयहरु गरेको छः प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरको ६० औं बोर्ड बैठकले यहि माघ १० देखि १६ गते सम्म प्रदेश स्तरमा मनाईने सहिद दिवसलाई भव्य र प्रभावकारी रुपमा मनाउन आवश्यक सहयोग गर्ने निर्णय गरेको छ ।
आज जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । सहिद दिवसलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समितिलाई जन परिचालनको जिम्मा प्राप्त भएको प्रमुख खुलालले बताउनुभयो ।
त्यस्तै बैठकले थाहा नगरपालिका स्थित जन कल्याण माविको निर्माण कम्पनीलाई पेश्की रकम उपलब्ध गराउन थाहा नगरपालिकालाई पत्राचार गर्ने निर्णय पनि गरेको छ ।
यस्तै बैठकले जिसससंग रहेको मौजदात कोषबाट हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मा खानेपानि आयोजना निर्माणमा सहयोग गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो ।
मौजदात कोषबाट खानेपानी आयोजना संचालनका लागि ३ करोड रकम उपलब्ध गराउने निर्णय भएको हो । मौजदात कोष कार्यविधि अनुसार खानेपानी आयोजना निर्माणका लागि ७५ प्रतिशत रकम अर्थात ३ करोड जिससले र २५ प्रतिशत उपमहानगरपालिकाले बेहोर्ने उहाँले बताउनुभयो ।
त्यस्तै आजको बैठकले दुईवटा स्थानीय तहलाई ४ वटा झोलुङ्गे पुला उपलब्ध गराउने समेत निर्णय गरेको छ ।
स्थानीय तहबाट माग भए अनुसार जिल्लाको ईन्द्रसरोवर गाउँपालिकालाई ३ वटा र गढी गाउँपालिकाबाट एकवटा झोलुङ्गे पुल उपलब्ध गराउने निर्णय भएको प्रमुख खुलालले बताउनुभयो ।
त्यस्तै बैठकले मकवानपुरमा आगामी फागुन महिनामा संचालन हुने स्थानिय तह सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय पनि गरेको छ ।
यसका साथै कार्यालयका कर्मचारी र पदाधिकारीका लागि सिप विकास तालिम संचालन गर्ने निर्णय समेत गरेको प्रमुख खुलालले बताउनुभयो ।
बैठकमा जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, जिससका सदस्यहरु एवम् कर्मचारीहरुको उपस्थिती थियो ।