ट्रम्पको महाअभियोग प्रस्तावमा औपचारिक प्रक्रिया सुरु
अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाअभियोग सम्बन्धी प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ ।
ट्रम्प विरुद्धका आरोपहरू सिनेटमा पढेर सुनाइएको छ भने सुनुवाइ प्रक्रियामा सहभागी हुने सबै सयजना सिनेटरहरूलाई शपथ दिलाइएको छ । प्रमुख अभियोजनकर्ता एड्म स्किफले अहिलेसम्म कुनै पनि राष्ट्रपतिले महाभियोग सम्बन्धी छानबिनलाई प्रक्रियागत रूपमा अवरोध पु¥याउन नभनेको बताउनु भएको छ ।
ट्रम्पमाथि आफ्ना राजनीतिक प्रतिद्वन्द्वी बाइडनविरुद्ध अनुसन्धान गर्न युक्रेनलाई दबाव दिएर संविधानको उल्लङ्घन गरेको आरोप छ । आफूले शक्तिको दुरुपयोग र काङ्ग्रेसको प्रक्रियामा अवरोध पु¥याएको भन्ने आरोप राष्ट्रपति ट्रम्पले अस्वीकार गर्दै आउनुभएको छ ।
डेमोक्र्याटहरूले सुनुवाइमा बयान दिनेहरूलाई बोलाउने र प्रमाणहरू जुटाउने काममा लागिपरेका छन् । राष्ट्रपति ट्रम्पविरुद्ध सिनेटमा हुने सुनुवाइमा शुरूवाति बयान आगामी मङ्गलबार हुने बीबीसीले जनाएको छ ।
महाभियोग सम्बन्धी प्रावधान अनुसार दोषी ठहर गर्ने तथा राष्ट्रपतिलाई पदबाट हटाउने पक्षमा दुई तिहाइ सिनेटरले समर्थन गर्नुपर्ने हुन्छ । सिनेटमाथि राष्ट्रपति ट्रम्पको सत्तारूढ रिपब्लिकन पार्टीको नियन्त्रण रहेकोले उहाँले सफाइ पाउने अपेक्षा गरिएको छ ।