सञ्चारकर्मी मनोहर ढकालका हत्यारालाई ३९ बर्ष कैद सजाय 

छहारी संवाददाता
माघ ३, २०७६

मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न २ जनालाई अदालतले ३९ बर्ष कैदको सजाय सुनाएको छ ।

सञ्चारकर्मी ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैदको फैसला सुनाएको हो ।

ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको श्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए, अनलाइन खवरले लेखेको छ । ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाइवालाई दोषी ठहर गरी जनही ७० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाइवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए ।

हत्या गरिएका रेडियोकर्मी ढकाल रेडियो पालुङमा कार्यरत थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेकोे प्रहरीसँगको बयानमा बताएका थिए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*