महिला पुर्नस्थापना गराउने निती नवन्दा समस्या
हिंसा पिडित महिलालाई न्याय दिलाउन आश्रयस्थलमा राखेपछि उनीहरुलाई समाजमा पुर्नस्थापना गराउने निती नवन्दा समस्या देखीएको छ ।
हिंसापिडित महिला सुरक्षित आश्रयस्थल जिल्ला समन्वय समितिको आयोजनामा बसेको बैठकका सहभागिहरुले पुर्नस्थापना गर्ने नितीलाई प्रभावकारी बनाउन आग्रह गरेका हुन् । हिंसा प्रभावित महिलाको पुर्नस्थापनाका लागि आयआर्जनको कार्यक्रममा सामाजिक संघसँस्थालाई सहभागी गराउनुपर्ने सहभागीहरुले बताए ।
यसबर्ष २६ जना हिंसाप्रभावित महिलाहरुलाई आश्रयस्थलमा राखिएको अल्पकालीन आश्रयस्थल जिल्ला सेवा केन्द्रले २६ जना पीडीतमध्ये ११ जना आफ्नै श्रीमानबाट कुटपिटमा परेको तथ्यांक सार्वजनिक गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाले आश्रयस्थल सञ्चालन गर्नका लागि निर्माण गरेको कार्यबिधीमा तोकिएको रकम न्युन भएकाले बजेटको दायरा बढाउन समितिले सुझाव दिएको छ ।
समितिका संयोजक मिना लामाको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका शाखाका प्रमुख बिष्णु कुमारी लामिछाने, कानुनी सल्लाहकार मुकुन्द अधिकारी, हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष अनिल बाँनिया लगायतको सहभागिता थियो ।