टिपरले किचेर दिलिपको हत्या भएको हुन सक्ने प्रहरीको आशंका
टिपरले किचेर धनुषाका दिलिप कुमार महतोको हत्या भएको हुन सक्ने आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
मर्निङवाकमा जान हिडेका धनुषाको मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षका दिलिप आज बिहान मृत फेला परेका थिए ।
अवैध नदी उत्खनन्को विरोध गर्दै आएका दिलिपलाई टिपरले किचेर हत्या गरिएको हुन सक्ने भन्दै अनुसन्धानका लागि प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले ना ७ ख ६४१३ नम्बरको टिपरका चालक बर्दिवास घर भएका मुनिन्द्र महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक, एसपी रमेशकुमार बस्नेतले जानकारी दिनुभयो । उहाँले घटनामा कसैको संलग्नता भेटिए नछाड्ने बताउनुभयो ।
पिडित परिवारले टिपरले किचेर दिलिपको हत्या गरेको दाबी गर्दै आएका छन् । आफन्तहरुले हत्याको विरोधमा रामलक्ष्मण चोकमा टायर बालेर प्रदर्शन गर्दा केहिबेर पूर्वपश्चिम राजमार्ग अबरुद्ध समेत भएको थियो । प्रहरीले १० राउण्ड अश्रु ग्याँस प्रहार गरी अवरुद्ध सडक खुलाएको हो ।