मनहरी गाउँपालिका अहिले सबैको चासो र चर्चाको विषय (तस्विरहरु)
सरला अधिकारी/ अहिले मकवानपुरको मनहरी गाउँपालिका सबैको चासो र चर्चाको विषय बनेको छ । जसको मुख्य कारण हो, बालमैत्री गाउँपालिका घोषणाको तयारी ।
मनहरीलाई बालमैत्री स्थानीय शासन घोषणा गरी नेपालमै पहिलो बालमैत्री गाउँपालिका बनाउन यती बेला स्थानिय जनप्रतिनिधी मात्रै होइन बालबालिका स्वयम् पनि लागि परेका छन् ।
२०७५ बैशाख ६ गते बालमैत्री स्थानिय शासन सम्बन्धि दुईदिने अभिमुखिकरणबाट सुरु गरिएको यो अभियानले यहि पुष २८ गते उपप्रधानमन्त्री इश्वर पोखरेलले औपाचारिक उद्घाटन गरेपछि सार्थकता पाउँदैछ।
यो अभियानलाई सफल बनाउन ९ वटै वडाका जनप्रतिनिधि, सहजकर्ता, विद्यालयमा गठन भएका बाल संजाल लगायत सबै पक्ष अहोरात्र खटिएका छन् ।
यो अभियानको संयोजन गर्नु भएको छ मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले । बालमैत्री घोषणा अभियान बारे बुझ्न विभिन्न क्षेत्रबाट अनुगमन टोली पनि गइरहेको छ जसले गर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अभियानलाई सहयोग पुगिरहेको बताउनु हुन्छ उपाध्यक्ष विष्ट ।
यसैक्रममा सोमबार मकवानपुरका पत्रकार महिलाको टोली पनि अनुगमनका लागि गाउँपालिका पुगेको थियो ।
टोलीसंग कुराकानी गर्दै उपाध्यक्ष विष्टले अभियान बारे भन्नुभयो–"सबैभन्दा पहिले प्रत्येक वडाहरुबाट सहजकर्ता छनोट गरी तथ्याङक संकलनको जिम्मेवारी दिइयो, त्यसपछि हरेक वडाको समुदाय स्तरमा, विद्यालय स्तरमा बाल समुह, बाल संजाल, आमा समुह, टोल विकास लगायतमा बालमैत्री स्थानिय शासनका ३९ वटा सूचकको बारेमा सचेतना कार्यक्रम संचालन गरियो । त्यसपछि तालिम, गोष्ठी, अन्तरक्रिया सञ्चालन गर्नुका साथै बाल बिवाह रोक्न, बाल श्रम न्यूनिकरणका लागि घरदैलो कार्यक्रमहरु संचालन गरियो ।"
गाउँपालिका उपाध्यक्ष विष्टले तथ्याङक संकलनका क्रममा वडा नम्बर २,३,४,६ बाल श्रमको जोखिममा रहेको तथा वडा नम्बर २,४,६ मा बालबिवाह बढी भेटिएकाले ति वडालाई प्राथमिकतामा राखेर बालमैत्री कार्यक्रम अगाडी बढाइएको जानकारी दिनुभयो ।
सचेतनाका लागि घरदैलोमा जाँदा धेरै समस्याहरु झेल्नु परेको उहाँले सुनाउनुभयो– "सुरुमा यसबारे कुरै सुन्न नचाहनेहरु पनि विस्तारै सचेत हुँदै गए ।"
बालमैत्री घोषणा अभियानमा सबैभन्दा मुख्य भुमिका बालबालिका कै हुने भन्दै उहाँले बालबालिकाबाट आफुहरुले महत्वपूर्ण सहयोग पाएको बताउनुभएको छ ।
बालमैत्री स्थानिय शासनका ३९ वटा सूचक मध्ये संस्थागत सूचक १२ वटा, बालबचाउमा १० वटा, बालसंरक्षणमा ५ वटा, बाल सहभागितामा ६ वटा र बाविकासमा ६ वटा सूचक रहेको उहाँले जानकारी दिनुभयो ।
अभियानले बालबिवाह र बालश्रमलाई निर्मुल पार्न विषेश जोड दिएको र सफल पनि भएको उहाँले बताउनुभएको छ । बालमैत्री घोषणाको अन्तिम तयारीमा रहेको भन्दै उहाँले यो सुरुवात मात्र भएको बताउनुभयो ।
घोषण पश्चात यो अभियान अझ प्रभावकारी ढंगले संचाल गर्ने भन्दै विष्टले केहि छिटपुट कमजोरीहरुलाई सुधार्दै लैजाने बताउनुभएको छ ।
बालमैत्री घोषणको पूर्वसन्ध्यामा सोमबार पुगेको महिला पत्रकारको टोलीले वडा नम्बर ३ र ४ को वडा कार्यालयका प्रतिनिधी, विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानियहरुसंग समेत छलफल अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा भेटिएका केहि कमीकमजोरीहरुलाई सुधार्न विद्यालय, वडा र गाउँपालिकालाई सुझाव दिँदै पत्रकारको टोली फर्किएको हो ।