चावहिलमा छात्रालाई ठक्कर दिने बसमा आगजनी
सुकेधारा नजिकै एक यात्रुबाहक बसले एकजना क्याम्पस जान लागेकी छात्रालाइ ठक्कर दिँदा उनी घाइते भएकी छिन् ।
घटनापछि आक्रोशित विद्यार्थीहरूकाे भीडले ठक्कर दिने बसकाे सट्टा अन्य गाडी चाबहिलमा जलाइदिएका छन् ।
चाबहिलस्थित पशुपति क्याम्पसमा अध्ययनरत गोरखाकी २२ वर्षीया सृष्टि पन्तलाई आज (सोमबार) बिहानै बा ५ ख ५९३० नम्बरको यात्रुबाहक बसले ठक्कर दिएको थियो । ठक्कर दिएर बस भागे पनि प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।
आक्रोशित भएका पशुपति क्याम्पसका विद्यार्थीहरुले चाबहिल क्षेत्रमा अवरोध र प्रदर्शन गरेका छन् । उनीहरुले अन्य गाडीमा तोडफोड र आगजनी गरेका हुन् ।
विद्यार्थीकाे भीडले बा ४ ख ७१०१ नम्बरको बसमा आगजनी गरेका छन् भने बा ३ ख ४४३३ नम्बरको बसमा तोडफोड गरेका प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट घाइते पन्तको चाबहिलकै ओम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पन्त पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत रहेको खुलेको छ ।
आक्रोशित भीडलाई नियन्त्रणमा लिन पशुपति क्याम्पस वरपर ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । न्युज २४ अनलाइनबाट