१० करोड अनुदानको मोडल कृषि कार्यक्रमका लागि प्रदेश तीनमा ३६ वटा फर्मको आवेदन
प्रदेश तीनको कृषि विकास निर्देशनालयले मोडल कृषि कार्यक्रम अन्तर्गत प्रति किसान एक करोड अनुदान दिन प्रस्ताव आब्हान गरेकोमा ३६ वटा फर्मले आवेदन दर्ता गराएका छन् ।
१० वटा व्यवसायीक फर्मलाई अनुदान दिने लक्ष्यसहीत प्रस्ताव मागिएकोमा ३६ वटा फर्मले आवेदन दर्ता गराएको निर्देशनालयका प्रमुख रविन्द्र बहादुर प्रधानले जानकारी दिनुभयो ।
लगातार तीन वर्षसम्म अनुदान कार्यक्रमलाई निरन्तरता दिने योजना सहित बहुबर्षीय अनुदान कार्यक्रम लागु गर्ने सरकारको योजना छ । आवेदन दिनेमा ३३ वटा निजी फर्म, २ वटा कृषक समूह र एउटा सहकारी छन् ।
कृषि ब्यवसायलाई उद्योगकै रुपमा स्थापित गर्ने योजना सहित मोडल कृषि कार्यक्रम अन्तर्गत बहुउत्पादन अनिवार्य राखीएको छ ।
कृषि र पशुपालनलाई समेत यो योजनाले समेट्ने निर्देशनालयका प्रमुख प्रधानले बताउनुभयो । अनुदानका लागि तेब्बर बढी निबेदन परेपछि निर्देशनालयले फिल्ड अनुगमन गरी फार्म छनौट गर्ने बताएको छ ।
पुस अन्तिम सातासम्म आवेदन परेका फार्महरुलाई सम्झौताका लागि आव्हान गर्ने निर्देशनालयको तयारी छ । यो कार्यक्रम सञ्चालनका लागि पाहाडी क्षेत्रमा चारसय र तराईमा दुईसय रोपनी जग्गा अनिवार्य हुनुपर्ने मापदण्ड राखीएको छ ।