लुक्सले मिस नेवाः ११४० मकवानपुर आयोजना गर्दै
लुक्स फेसन होम एण्ड ईभेन्ट म्यानेजमेन्ट प्रा.लिले हेटौंडामा मिस नेवाः ११४० मकवानपुर आयोजना गर्ने भएको छ ।
आज हेटौडामा पत्रकार सम्मेलन गर्दै कम्पनीका प्रमुख तथा कार्यक्रम व्यवस्थापक रविन्द्र ब्रजचार्यले आगामी चैत ८ गते फाइनल प्रतियोगिता हुने गरी तयारी थालिएको जानकारी दिनुभएको हो ।
सामाजिक कार्य गर्दै आइरहेको जीवन कल्याण तथा सहजीकरण संस्थालाई सहयोग गर्ने उदेश्यले प्रतियोगिता गर्न लागिएको उहाँले बताउनु भयो ।
प्रतियोगितामा आफ्नो भाषा, भेषभुषा, रहनसहन, कला संस्कृतिलाई प्राथमिकता दिइने कार्यक्रम संयोजक विजय श्रेष्ठले बताउनुभयो ।
फाइनल प्रतियोगितासम्म पुग्न सहभागिहरुलाई ४५ दिन विभिन्न खाले तालिम दिइने श्रेष्ठले बताउनुभयो ।
विजेता मिस नेवाः ११४० मकवानपुरलाई नगद १ लाख तथा ताज, फष्ट रनरअपलाई नगद ७० हजार र सेकेन्ड रनरअपलाई नगद ४५ हजार प्रदान गरिने संयोजक श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा सहभागि हुन एसइई दिएका नेवार समुदायका अविवाहित हुनुपर्ने आयोजकले जनाएको छ ।
प्रतियोगितामा मकवानपुर जिल्ला बाहिरकाले पनि सहभागिता जनाउन सक्नेछन् भने सहभागीले १५ हजार रकम तालिम शुल्कको रुपमा तिर्नु पर्नेछ । सहभागी हुन चाहनेले आगामी माघ १६ गतेसम्म फारम भरेर बुझाइ सक्नुपर्ने संयोजक श्रेष्ठले बताउनुभयो ।
कार्यक्रम संचालन गर्न ३५ लाख ४५ हजार रुपैया खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
लुक्सले कार्यक्रमबाट आएको आम्दानीको ५० प्रतिशत रकम आफ्नो संस्थालाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जीवन कल्याण तथा सहजीकरण संस्थाका अध्यक्ष रविन्द्र शाहीले बताइउनुभयो । संस्थाले विपन्न २५ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरी विभिन्न स्कुलमा पढाउँदै आएको छ ।