महिलाको शत्रु पुरुष मात्र छैन महिला पनि छन् ।

कुनै दिन हजुरआमाले, अनि आमाले र अहिले मैले सहनु पर्ने भएको छ । मैले सहनु भनेको मेरी छोरी नातीनीमा पनि सहने प्रवृत्तिलाई निरन्तरता दिनु हो । त्यसैले अब यो मेरै पालादेखि तोडिदिन्छु ।
छहारी संवाददाता
मंसिर २७, २०७६

सरला अधिकारी / 
नमस्कार साथी । सञ्चै छौ ? म्यासेन्जरमा लेखिएको यो शब्दले फेरी मेरो मन झस्कायो । उत्तर दिनुभन्दा अघि मनमा अनेक तर्कना आए, मनमा हुन्डरी चलेजस्तो भो । भारी मनले उत्तर दिए, ठिक छु अनि तिमीलाई, नानीलाई कस्तो छ? उताबाट उत्तर आयो अहिलेसम्म त ठिकै छौं । 

यतिले हाम्रो सम्वाद रोकिने वाला थिएन । जिवनको सबै भन्दा प्रिय मान्छे आफ्नै आँखा अगाडी कसैले खोसेर लग्दै गरेको भोगेकी एउटी महिला अनि त्यसको बृतान्त थाहा पाएर पनि केहि गर्न असमर्थ म ।

केहि सोधौं कि नसौधौं, असमन्जस्यमा परे । झट्छ् उताबाट लेखियो मैले अब छोड्ने नै निर्णय गरें, कती सहनु ? उसलाई छोड्न नसक्ने रे । बरु बस्न नसक्ने भए मलाई छोडेर जाउ भन्नु हुन्छ । अब कसरी बस्नु र ?

यो सुनेर मन भारी भयो, यत्रो वर्षको सम्बन्ध क्षण भरमै खरानी भएजस्तो । तर कता कता खुशि पनि लाग्यो, मेरी साथी तनावबाट त मुक्त हुन्छे ।

मैले सोधें–घरमा सल्लाह गरेको हो? एकपटक फेरी सोच । उसले भनी– यो घरमा मेरो आफ्नो को छर सोध्नु ? सबै उहाँकै मान्छे हुन्, जे भए पनि छोरीको लागि सहनु पर्छ भन्नुहुन्छ ।

कुनै दिन हजुरआमाले, अनि आमाले र अहिले मैले सहनु पर्ने भएको छ । मैले सहनु भनेको मेरी छोरी नातीनीमा पनि सहने प्रवृत्तिलाई निरन्तरता दिनु हो । त्यसैले अब यो मेरै पालादेखि तोडिदिन्छु म । केश फाइल गरिसकें तर मुद्धा छिनोफानो हुन एक वर्ष भन्दा बढी लाग्छ रे ।

मैले अंश लिएर छोड छोडे पनि भन्दै गर्दा उसले लेखि मलाई चाहिँदैन अंश । एउटी छोरी हो जसरी पनि कमाएर हुर्काउछु, अंश नलिदा त यत्रो समय लाग्छ रे लिने मुद्धाले त झन मलाई अल्झाउछ । श्रीमान त खोसेर लगि, खाओस् सम्पत्ति पनि ।

उ लेख्दै थिई, यता मेरो मनमा अनेक कुरा खेलिरहेको थियो । साथीको निर्णयमा खुशि हुनु कि दुखि ! कुनै दिन आफनो खुशि बयान गरेर नथाक्ने मेरी साथी आज पिडा मै खुशि खोजिरहेकी छ ।

उसलाइ सल्लाह दिने शब्द छैैन मसंग । करीब ३ वर्षदेखि उ आफनै श्रीमान आधी आधी बाढेर बसेकी छे, अब त पुरै दान दिने भइछ । 

मेरी साथी त प्रतिनिधी पात्र मात्रै हो । एउटी महिला आफ्नो सम्पूर्ण जिवन व्यतित गर्छु भनेर आफ्नो जन्मघर छोडी अर्काको घर सजाउन पुग्छे । तर त्यही घरमा उसको अस्तित्वमा अरु कसैले धावा बोल्दा बाध्य भएर नयाँ बाटो रोज्नु कती पिडादायी हुँदो हो त्यो भोग्नेले मात्रै चाल पाएको हुन्छ ।

यस्तो अवस्थामा उसलाई साथ दिने कोही छैन । बरु कुलको इज्जत र छोराछोरीको भविष्यको लागि सहेर बस् भनेर सल्लाह दिने आफन्तको लर्को हुन्छ । यतीसम्म की सासुले तिमीलाई त के परेको छ र? तिम्रा ससुराले उमेरमा गाउँका कती चरीलाई जालमा पारे तर खै हामीले कुनै मुद्धा मामिला गरेनौं । सहेर आफ्नो इज्जतमा बस्नु पर्छ, सहनेले जित्छ।

यस्ता महान वाणी सुनाउने सासु (महिला) पनि हाम्रै माझमा छन् । मेरी साथी पनि महिला, उसको खुशि बर्बाद गर्ने 'त्यो' पनि महिला र गलतलाई बढावा दिने यस्ता सासु पनि महिला । त्यसैले मन कुड्याउँदै भन्नुपरेको छ महिलाको शत्रु पुरुष मात्र छैनन् महिला पनि छन् ।

श्रीमानसंग छोडपत्र गर्दै गर्दा लाग्ने समय र त्यो समयसम्म घर समाज अनि कतीपय साथी बाटै उठ्ने प्रश्न र हेरिने दृष्टिकोणले महिला अझ पिडित हुने दुखद पाटो त छँदैछ । अंशको लागि मुद्धा गर्दा कती झन्झट बेहोर्नु पर्ने हो त्यो भनिसाद्य छैन ।

अदालतमा महिलालाई अंश चाहिन्छ चाहिदैन भनी सोधपुछ त गरिन्छ तर अंशका लागि मुद्दा प्रक्रियामा जानुपर्ने समस्याले धेरै महिलाले अंश समेत लिदैनन् । लिइहाले पनि श्रीमानले दिएको पिडा सहन नसकेर छोडपत्र गरेकी महिलालाई फेरी यही समाजले इज्जत साथ बाच्न दिँदैन ।

श्रीमानसंग रहुञ्जेल जोसंग हिडेपनि केहि नभन्ने यही समाजले छोडपत्र पछि आफ्नै दाजुभाईसंग हिडेको देखे पनि, के था को हो मैले त पछाडीबाट मात्रै देखें । टन्न अंश लिएकै छ, जोसंग मोज गर्दै हिडेपनि भैगोनी भन्न पछि पर्देन । उसले गरेको दुख देख्दैन यो समाज ।

यता आफ्नै कार्यालयको हाकीम होस् या आफ्नै पुरुष साथीबाटै किन नहोस् खुलेरै तिम्रो पिडा म बुझ्छु, केहि परे भन्नु म दिनमा मात्र हैन रातमा पनि सहयोग गर्न तयार छु भन्ने सम्मका अभिव्यक्ति आउँछन् ।

यस्ता प्रवृत्ति भएका मानिस हाम्रै वरीपरि छन् । आफ्नै बाटो लाग्दा पनि महिलालाई सजिलो कहिँ कतै छैन ।

यस्तो परिवेशमा हामी महिला कहाँ कोसंग खुशि खोज्ने? कस्को भर पर्ने? कसलाई शत्रु या मित्र ठान्ने ? यस्तो लाग्छ महिलाको व्यथा कहिलै अन्त्य नहुने कथा हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*