मकवानपुरमा साइबर अपराधका घटना बढ्दो
बिश्वमै प्रविधीको विकास र यसको प्रयोगले तिब्रता पाइरहेको बेला यसबाट निम्तने अपराधका घटनामा पनि वृद्धि भएको छ ।
नेपालमा अहिले साइबर अपराध समस्याको बिषय बनेको छ । यसैबीच मकवानपुरमा साइबर अपराध सम्बन्धी घटना बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुर दिएको तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा यसवर्ष श्रावण १ गते देखि हालसम्म ५२ वटा साइबर अपराध सम्बन्धि निवेदन परेको कार्यालयले जनाएको छ । जसमा १ वटा इन्स्ट्राग्राम,१ वटा ईमो र बाकी ५० वटा फेसबुक सम्बन्धि घटना रहेका छन् ।
गतबर्ष यहि अवधीमा ६२ वटा साइबर अपराधका घटनाको निवेदन परेको कार्यालयले जनाएको छ ।
साइबर अपराधमा अधिकांश पीडितहरु महिला नै रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।
घटनामा पीडित वा पिडक १७ देखि ४० वर्ष उमेर समुहका रहेको उहाँले बताउनुभयो । फेसबुकमा नक्कली आइडी बनाएर आफन्त तथा साथीहरुलाइ नराम्रा शन्देस पठाउने, जथाभावी तस्बीर हालिदिने जस्ता समस्यामा पिडितले निबेदन दर्ता गराउने गरेको एसपी सिंहले बताउनुभयो ।
साइबर अपराध बिरुद्ध परेका निवेदन जिप्रका मकवानपुरले महानगरीय प्रहरी परिषद् काठमाडौंमा अनुसन्धान तथा कारबाहीका लागि पठाउने गरेको छ । यद्यपि जिल्लामा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रमहरु भने संचालन गर्दै आएको छ ।
प्रहरी साझेदारी कार्यक्रम अन्तरगत विभिन्न बिद्यालय तथा क्याम्पसहरुका विद्यार्थीहरुलाइ प्रहरीसंग एक दिन कार्यक्रम संचालन गरिएको एसपि सिंहले बताउनु भयो ।
साथै सामुदायिक प्रहरीको अगुवाइमा विभिन्न स्थानमा साइबर अपराध सम्बन्धि सचेतना कार्यक्रम तथा पर्चा पम्प्लेट टासिंएको उहाले बताउनुभयो ।
साइबर अपराध रोक्न व्यक्ति स्वयं पनि सचेत हुन प्रहरी उपरीक्षक सिंहले आग्रह गर्नु भएको छ ।
उहाँले आवश्यक भन्दा बढी सामजिक संजालको प्रयोग नगर्न, अन्जान व्यक्तिलाई साथि नबनाउन, पासवर्ड गोप्य राख्न तथा विभिन्न एप्लिकेशनहरु नबुझी डाउनलोड नगर्न आग्रह गर्नु भएको छ ।
साथै अभिभावकहरुलाइ आफ्ना सन्तानको कार्य प्रती ध्यान दिन समेत एसपी सिहले आग्रह गर्नुभएको छ ।
बिद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ मा यस्ता गतिबिधि गर्नेलाइ १ लाख जरीवाना वा ५ बर्ष कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था छ ।