जीतपुरसिमरामा बाँदर आतङ्क

छहारी संवाददाता
मंसिर २१, २०७६

अविनाश आचार्य / बाँदरले बस्तीमा पसेर आतङ्क मच्चाउन थालेपछी बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर एकका स्थानीय समस्यामा परेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्जसँगै रहेको थानिमाई वन क्षेत्रबाट आएका बाँदरले मानिसलाई हातपात गर्ने, चिथोर्ने गर्न थालेपछी स्थानीय आतङ्कित बनेका हुन् ।

केही समययता सयौँको संख्यामा बस्तीमा आउने बाँदरले घरमा पकाएर राखेको खाना समेत खाईदिने गरेको स्थानीयको गुनासो छ । सिमरा उपमहानगरपालिकाको वडा नम्बर १ मा पर्ने पानीटंकी टोलमा बाँदरको आतङ्क बढी देखिएको छ ।

बालबच्चाले खान लागेको खानेकुरा बाँदरले खोसीदिने, बालबच्चा र बृद्धबृद्धामाथि हातपात गर्ने र झम्टिने गर्नेहुँदा घरमा एक्लै बस्न सक्ने अवस्था नभएको स्थानीय मीना घिमिरेले बताउनुभयो ।

सुरु सुरुमा बस्ती पस्ने केही बाँदरलाई रमाईलोका लागि खानेकुरा दिँदा पछी बस्तीमै पल्केर खानेकुरा खोज्ने भएकाले यस बिषयमा संयमित बन्नुपर्ने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अमिर महर्जनले बताउनुभयो ।

सिमरा लगायत देशका अन्य स्थानमा पनि बाँदर आतङ्कको समस्या बढिरहेको भएपनि समस्या समाधानका लागि ठोस पहल भएको छैन । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*