उपनिर्वाचनले पार्टीलाई खतराको संकेत दियोः माधव कुमार नेपाल

छहारी संवाददाता
मंसिर २१, २०७६

नेपाल कम्युनिष्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेपाल कम्युनिष्ट पार्टीले बिगतमा कम्युनिष्टकै गढ मानिएका क्षेत्रहरुमा पराजय ब्यहोर्नुलाई खतराको घण्टीको संज्ञा दिनु भएको छ ।

मकवानपुरको मनहरीमा शुक्रबार दिउँसो आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री नेपालले आसन्न उपनिर्बाचनमा भक्तपुर, धरान र चितवनमा देखिएको परिणाम खतराको रुपमा रहेको उल्लेख गर्नुभयो ।

‘हामीले पोखरामा जित्यौँ, दाङमा जित्यौँ भनेर उफ्रिने र मात्तिने बेला छैन’, नेता नेपालले भन्नुभयो–‘खतराको घण्टी बजेकाले निर्मम समिक्षा गरेर अघि बढ्नुको बिकल्प अब नेपाल कम्युनिष्ट पार्टीसँग छैन ।’

उहाँले केही दिनमै स्थायी कमिटीको बैठक बस्न लागेकाले उपनिर्वाचनको समिक्षासहित पार्टी एकताको सबै कामहरु टुङ्गिने विश्वास व्यक्त गर्नुभयो । स्थायी कमिटी बैठकले पोलिट्ब्यूरो कमिटी निर्माण गर्ने एजेण्डाले सार्थकता पाउने दाबी गर्नुभयो ।

तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच भएको एकताको लामो अबधि बितिसक्दा समेत एकतापछिका कतिपय कामहरु हुन नसकेकाले अब सरासर अधूरा कामहरु गर्न नसके नेकपा पछि पर्ने उहाँले बताउनुभयो ।

निश्चित दायरा बनाएर पोलिटब्यूरो कमिटी निर्माण गरिने बताउँदै नेता नेपालले त्यसलगत्तै मेची महाकाली जागरण तथा गाउँपालिका जागरणजस्ता कार्यक्रमहरु पार्टीले सञ्चालन गर्ने जानकारी दिनुभयो ।

नेपाल तत्कालीन प्रधानमन्त्री रहेका बेला २०६७ साल असार ८ गतेको मन्त्रीपरिषद बैठकले बस्ती सार्ने निर्णय गरी राप्तीपारिका दुईवटा वडालाई सरकारले राप्तीवारिपट्टि स्थानान्तरण गरिएको क्षेत्रमा समेत उहाँले अवलोकन गर्नु भएको थियो ।

सो क्रममा सीमान्तकृत बोटे समुदायका एकीकृत बस्ती तथा कृषि उपज र सडकहरु अवलोकन गर्दै नेता नेपाल कार्यक्रमस्थल पुग्नु भएको थियो । उहाँलाई स्थानान्तरण गरिएका बस्तीका बासिन्दाले थप पूर्वाधारहरु निर्माण गर्नका लागि मागपत्र समेत पेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केदार न्यौपाने, बिरोध खतिवडा, कुमारी मोक्तान, रामेश्वर राना, जिल्ला अध्यक्ष मुनु सिग्देल, प्रदेश कमिटी सदस्यहरु ओमबहादुर ग्लान, एकराज उप्रेती, संविधासभा सदस्य राजाराम स्याङ्तान, नेकपा मकवानपुरका कार्यालय सदस्य एकालाल श्रेष्ठ लगायत नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम मनहरी गाउँ कमिटी अध्यक्ष रामप्रसाद कालाखेतीको सभाध्यक्षतामा भएको हो भने मनहरी गाउँ कमिटी सचिवालय सदस्य मनिला बिष्टले स्वागत गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*