१२ बर्षे जनयुद्दमा मकवानपुरबाट वेपत्ता भएका व्यक्तिहरुको २५ वटा मात्रै उजुरी 

छहारी संवाददाता
मंसिर १७, २०७६

बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले १२ बर्षे जनयुद्दका समयमा मकवानपुर जिल्लाबाट वेपत्ता भएका व्यक्तिहरुको २५ वटा उजुरी परेको जनाएको छ ।

जिल्ला अदालत मकवानपुरमा सरोकारवाला निकायहरुसंग गरिएको अन्तरक्रियामा यस्तो जानकारी दिइएको हो ।

कार्यक्रममा मकवानपुरबाट प्राप्त भएका २५ उजुरी विस्तृत छानविनमा र २ वटा उजुरी तामेलीमा रहेको जनाईएको छ ।

त्यस्तै रेडक्रस सोसाईटी मकवानपुरले मकवानपुरबाट ९ जना बेपत्ता पारिएको तथ्यांक रहेको जनाएको छ भने ईन्सेक परियोजना मकवानपुरले १२ जना बेपत्ता भएको जनाएको छ ।

यसैगरी, ३ वटा उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएकोमा १ वटा उजुरी आयोगबाट फिर्ता भएको समेत जनाईएको छ । २५ वटा उजुरीहरु विस्तृत छानबिनको प्रारम्भिक चरणको कार्य सम्पन्न भएको छ ।

यस्तै, देशभरि परेका उजुरीहरुमध्ये ४ सय १४ उजुरी सत्य निरुपण तथा मेलमिलाप आयोगमा पठाईएकोमा पुनः उजुरी कर्ताको अनुरोध १ सय ३७ उजुरी आयोगले फिर्ता पठाएको छ ।

एउटै व्यक्तिलाई बेपत्ता पारिएको भनि एकभन्दा बढी उपुरी परेकोमा एउटैमा गाभि काटी लगत कट्टा गरिएको उजुरी संख्या १ सय २५ रहेको छ भने तामेलीमा २ सय ८९ उजुरी रहेका छन् ।

त्यसैगरी, विस्तृत छानबिन गर्ने भनि आयोगबाट निर्णय भएका २ हजार ५ सय ६ वटा उजुरी छन् भने उक्त उजुरीहरु हाल कारबाही युक्त रहेका छन् ।

उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिहरुको संख्या २ हजार ५ सय १८ रहेको छ भने विस्तृत छानविन गर्न भनि अनुसन्धान अधिकारी तथा कार्य टोली तोकिएको उजुरी २ हजार १६९ रहेका छन् ।

विस्तृत छानबिनको प्रथम चरणको कार्य सम्पन्न भएको ६४ जिल्ला रहेका छन् भने २३ जना फेला परेका छन् । विस्तृत छानबिन गर्न अनुसन्धान तोकी प्रथम चरण विस्तृत छानविन अन्तर्गत २ हजार ८ वटा उजुरीको कार्य सम्पन्न भएको छ ।

सोही संख्यामा प्रथम चरण विस्तृत छानविन अन्तर्गत उजुरीकर्ता बुझ्ने, एण्टीमोर्टम भराउने, परिपुरण भराउने कार्य सम्पन्न गरि अनुसन्धान अधिकारी तथा कार्य टोलीबाट रायसहितको प्रतिवेदन आयोगमा पेश गरिएको छ ।

यसैगरी, १ सय ६१ वटा उजुरी उजुरीकर्तासँग सम्पर्क नहुँदा विस्तृत छानविनको कार्यअन्तर्गत प्रथम चरणको कार्य गर्न सकिएको छैन । देशभरिबाट बेपत्ता भएका व्यक्तिहरुको ३ हजार १ सय ९७ उजुरी परेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*