पहुँच नभएका द्वन्द पीडितहरुको वास्ता भएनः कानुनमन्त्री जमकट्टेल
प्रदेश नम्बर तीनका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेलले संघीय सरकारले पहुँच भएका द्वन्द पीडितलाई संरक्षण गर्ने तर अरुलाई वास्ता नगरेको आरोप लगाउनु भएको छ ।
गृह मन्त्रालयको आयोजनामा आज हेटौंडामा भएको छलफल कार्यक्रममा उहाँले द्वन्द पीडितहरुलाई पक्षपात गर्ने प्रवृति त्याग्नुपर्ने बताउनुभयो ।
उहाँले द्वन्द पीडितको एजेण्डा बोक्ने जिम्मा गैरसरकारी संस्थाहरुको मात्र नभएको भन्दै अब यो एजेण्डा स्थानीय, प्रदेश र संघीय सरकारको एजेण्डा बन्नु पर्ने बताउनुभयो ।
अहिले पनि द्वन्द पीडितहरुको अपमान गर्ने गरिएको प्रती आपत्ति जनाउँदै मन्त्री जमकट्टेलले भन्नुभयो–‘वास्तविक द्वन्द पीडितहरु को छन् । उनीहरुको समस्या वुझ्नुपर्छ । द्वन्द पीडित कसलाई मान्ने अव द्वन्द पीडितको नयाँ परिभाषा गर्न जरुरी छ ।’
नेपालको द्वन्दको प्रकृति अरु देशको भन्दा फरक रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार वस्नेत, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, उपमेयर मिना कुमारी लामा, मकवानपुर गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाँई, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, भिमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, राक्सीराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, कैलाश गाउँपालिकाका अध्यक्ष टंक मोक्तान लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोसीको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा सरकारी तथा गैरसरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।