कुवापानीमा संचालित निशुल्क आँखा शिविरमा १ सय ६५ जनाले आँखा परिक्षण गराए (तस्विरहरु)
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ ज्यामिरे स्थित कुवापानीमा रहेको शहरी स्वास्थ्य केन्द्रमा संचालित एक दिने निशुल्क आँखा शिविरमा १ सय ६५ जनाले आँखा परिक्षण गराएका छन् ।
हेटौंडा सामुदायिक आँखा अस्पतालको आयोजना तथा महिला सशक्तीकरण तथा गरिबी निवारण समूह नेपाल मकवानपुरको सह आयोजनामा आज शनिवार एक दिने शिविर संचालन गरिएको हो ।
शिविरमा आँखा जाँच गराएका मध्ये ११ जना मोतिबिन्दुका बिरामी भेटिएका छन् । उनिहरु सबैको हेटौडा सामुदायिक आँखा अस्पतालमा निशुल्क अप्रेशनको व्यवस्था गरिएको महिला सशक्तीकरण तथा गरिबी निवारण समुह नेपालकी अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिनुभयो ।
उनिहरुलाई शनिवार नै आँखा अस्पताल ल्याइएको छ । यद्यपी उनिहरुको अप्रेशन भने भोली आइतबार अन्य चेकजाँच पछि मात्रै हुने अस्पतालले जनाएको छ ।
शिविरमा हेटौडा सामुदायिक आँखा अस्पतालका बरिष्ठ नेत्र सहायक डाक्टर किरणराज ढुंगाना र नेत्र सहायक डाक्टर आस्था क्षेत्रीले बिरामीहरुको आँखा जाँच गर्नु भएको थियो । यस्तै चुरेहिल अस्पतालका फिजियो थेरापिस्ट डाक्टर बाबु सद्धाम हुसेनले सहजिकरण गर्नु भएको थियो ।
शिविरमा १८ वर्षकी किशोरी देखि ७५ वर्षका बृद्धबृद्धाले आँखा जाँच गराएका थिए । उपमाहानगरकै एक वडा भएपनि विकट क्षेत्र कुवापानीमा पहिलो पटक शिविर संचालन भएको भन्दै स्थानियले आँखाको परिक्षण गर्न पाएकोमा खुशि व्यक्त गरेका छन् ।
यता अस्पतालमै बसेर बिरामीको आँखा परिक्षण गर्दाको भन्दा भिन्न सन्तुष्टि प्राप्त भएको परिक्षणमा संलग्न डाक्टर ढुंगाना र क्षेत्रीको अनुभव छ ।
यस्तै लामो समयदेखि सामाजिक कार्यमा सक्रिय महिला सशक्तीकरण तथा गरिबी निवारण समुह नेपालकी अध्यक्ष न्यौपानेले पहुँच पुग्ने ठाउँहरुमा मात्रै केन्द्रित भएर काम गर्नुभन्दा विकट क्षेत्रमा काम गर्न आफुलाई आनन्द लाग्ने बताउनुभयो ।
उहाँले हेटौडाका विभिन्न वडाहरुमा पुगेर कृषक तथा महिलाहरुको सशक्तिकरणका लागि कार्य गर्दै आउँनु भएको छ ।
आजै पनि उहाँले कुवापानीमा कफी खेतीमा लागेका २५ जना र टनेल खेती गर्ने १५ जना कृषकहरुका लागि विउविजन तथा खेती गर्न आवस्यक सामग्री वितरण गर्नुभयो । युनडिपी र हेटौडा उपमहानगरपालिकाको सहयोगमा सामाग्री हस्तान्तरण गरिएको हो ।