एएफयुले अदालतको आदेशलाई लत्याउँदै भवन निर्माण गरेकाे प्रति वनविज्ञानकाे अापत्ति

छहारी संवाददाता
मंसिर १३, २०७६

एएफयुले अदालतको आदेशलाई लत्याउँदै भवन निर्माण अगाडि बढाएको भन्दै वनविज्ञानले बिहीबार पत्रकार सम्मेलन गरेर आपत्ती जनाएको छ ।

विगत ७/८ बर्षदेखि त्रिभुवन विश्वविद्यालय अन्तर्गत हेटौंडामा रहेको वनविज्ञान अध्ययन संस्थान र कृषि तथा वन विश्वविद्यालय एएफयु बीचको विवादलाई आज त्रिविले पत्रकार सम्मेलन गरी एएफयुले बल मिचाई गरेको आरोप लगाएको हाे ।

नेपाल सरकारले २०७४ मा ६० बिगाहा जग्गा एएफयुलाई वनविज्ञान अध्ययन संस्थानले दिने भन्ने निर्णय अनुसार त्रिविले एएफयुलाई जग्गा दिइसकेको थियो । तर एएफयुले आफुले प्राप्त गरेको जग्गा उपयोग नगरी वनविज्ञान अध्ययन संस्थानको नाममा रहेको जग्गामा भवन निर्माण थालेपछि फेरि विवाद भएको वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख श्यामकिशोर साहले जानकारी दिए ।

केही महिना अघि मात्र मुख्यमन्त्री डाेरमणि पाैडेलद्वारा सिलान्यास भएकाे एएफयुकाे भवन निर्माण सुरू भएपछि वन विज्ञान अध्ययन संस्थानले अाफ्नाे जमिनमा भवन वनाउन नपाउने भन्दै उच्च अदालत पाटन हेटौंडा इजलासमा मुद्दा दायर गरेको थियो । उक्त मुद्दाको सुनुवाइ गर्दै अदालतले २०७६ भदौ ८ गते एएफयुलाई भवन निर्माण नगर्न आदेश दिएको थियो ।

अदालतका न्यायाधीसद्वय टेकराज नेपाल र चण्डिराज ढकालको संयुक्त इजलासले विवादको टुंगो नलागेसम्म भवन निर्माण र रुख कटान नगर्नु, नगराउनु भनि अन्तरिम आदेश दिएको थियो । २०७६ साउनमा पनि एएफयुले जर्वजस्ती रुख काट्ने र संरचना निर्माण गर्न लागेको भन्दै हेटौंडा इजलासमा निवदेन दिएपछि न्यायाधीस ढकालको एकल इजलासले रुख काट्न र भवन निर्माण नगर्न अन्तरिम आदेश दिएका थिए ।

एएफयुले अदालतको आदेशलाई समेत लत्याउँदै भवन निर्माण अगाडि बढाएको भन्दै वनविज्ञानले बिहीबार पत्रकार सम्मेलन गरेर आपत्ती जनाएको हो। अदालतको आदेशमा भवन निर्माण नगर्नु भने पनि एएफयुले दिनरात निर्माण कार्य अगाडि बढाएको वनविज्ञान अध्ययन संस्थान हेटौंडा क्याम्पसका प्रमुख साहले बताए । त्रिविले दिएको जग्गामा भवन निर्माण नगरी जर्वजस्ती जग्गा अतिक्रमण गरेर काम गरिरहँदा पनि सरकोकारवाला निकायले चासो नदिएको उनले आरोप लगाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*