विकासका चरणहरु आत्तिएर पुरा हुँदैनः जिसस प्रमुख खुलाल
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले इपा कोगटेका जनताले अब आफुलाई बत्ती मुनीको अध्यारोमा परेको भन्न नसुहाउने बताउनु भएको छ ।
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको टोलीले आज मकवानपुरको भिमफेदी–कोगटे–इपा–सिस्नेरी सडकखण्ड स्तरोन्नती आयोजनाको अवलोकन भ्रमण गर्ने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।
आफुहरु अबलोकमा आउँदा सजिलै गाडी चढेर यस क्षेत्रमा आएको भन्दै प्रमुख खुलालले २० वर्ष अघिको समय स्मरण गर्नुभयो । उहाँले भन्नुभयो– "अहिले हामी गाडीमा सजिलै आयौ, तर २० वर्षअघि इपाको धेरै स्थानमा हात्तीछाप चप्पल पड्काउँदै हिडेका छौं । यो ऐतिहासिक फरक हो ।"
विकासका चरणहरु आत्तिएर पुरा नुहने भन्दै उहाँले राज्यको पुर्नसंरचनापछि मात्रै यो संभव भएको जिकिर गर्नुभयो ।
प्रदेश सरकारले अघि सारेको योजनाले जिल्लाको मुहार परिवर्तन हुने चरणमा रहेको भन्दै प्रमुख खुलालले सबैको प्रयत्न भने यसलाई सफल पार्नेमा केन्द्रित हुनु पर्नेमा जोड दिनुभयो ।
विकासलाई अर्थसंग मात्रै जोडेर नहेर्न आग्रह गर्दै उहाँले विकासको लागि इमान्दारीता र सबैको सक्रियता आवश्यक पर्ने बताउनुभयो ।
कसैको आशा र भरोसा मात्र गर्ने परिपाटीको अन्त्य गर्न सुझाव दिँदै उहाँले भन्नुभयो– "अहिले बनिरहेको सडक पनि स्थानियको चासोको विषय हुनु पर्यो अनि मात्रै विकास निर्माणले पूर्णता पाउँछ । यो बाटो जसले बनायो त्यसले लाने हैन, यहाँ बनेको विद्यालय यहि रहने हो कसैले लाने होइन । त्यसैले हामी सबैको हो भनेर जनता एकमत भए गाउँको विकास सजिलै हुन्छ ।"
केन्द्रीय राजधानीसँग नजिकको जिल्ला भएपनि खानेपानी र विजुलीको समस्या रहेको स्थानीयले गुनासो गरेका थिए । सवारी साधन गाउँमा देख्न समेत नपाएका स्थानीय अहिले सडक बनिरहेको प्रति भने निकै खुशि छन् । सडक निर्माणसंगै अब आफुहरुले उत्पादन गरेका बस्तुले बजार पाउनेमा स्थानिय विश्वस्त छन् ।
भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार हेटौडाको करीब २६ करोड लागतमा उक्त सडकखण्ड रमण सगरमाथा जेबी धुम्बाराही काठमाडौले २०७५ मंसिर अन्तिम सातादेखि निर्माण कार्य सुरु गरेको हो ।
२३ किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्ड आयोजना आर्थिक वर्ष २०७६र७७ को अन्तिममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ ।
अनुगमनमा मुख्यमन्त्री पौडेलसंगै जिसस प्रमुख खुलाल, भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाईका प्रमुख बिमल किशोर केवी, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा लगायत पत्रकारहरुको सहभागिता रहेको थियो ।