प्रदेशका गाउँ गाउँमा खानेपानी, बिजुली र सडक पुर्याउने योजना साकार हुँदैछः मुख्यमन्त्री पौडेल
प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका गाउँ गाउँमा खानेपानी, बिजुली र सडक पुर्याउने सरकारको योजना साकार हुने गरी काम भइरहेको बताउनु भएको छ ।
आज मकवानपुरको भिमफेदी–कोगटे–इपा–देउराली–सिस्नेरी सडकखण्ड स्तरोन्नती आयोजनाको अवलोकन भ्रमण गर्दै उहाँले खानेपानी पहिलो आवश्यकता भएकोले हरेक जनताको घरमा खानेपानीको धारा जडान हुनु पर्ने बताउनुभयो ।
न्यनतम आधारभुत आवश्यकता पुरा भएपछि अन्य आबश्यकताहरु पनि मिल्दै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– “सबै जनताको घर अभाव रहित हुनुपर्छ अनिमात्र सम्बृद्ध नेपालको यात्रा सम्बभ हुन्छ” ।
सरकारले हरेक नेपालीलाई उत्पादनसँग जोड्ने गरी योजना बनाइरहेको भन्दै मुख्यमन्त्री पौडेलले सडक बनेसंगै स्थानिय स्तरमा उत्पादित बस्तुको बजारीकरण सहज हुने र जनताको आयआर्जनमा बृद्धि भइ जीवनस्तर उकासिने बताउनुभयो ।
अहिलेको सरकारले भौतिक विकासलाई मात्रै जोड नदिएको भन्दै मुख्यमन्त्री पौडेलले सामाजिक विकासलाई पनि संगसंगै अगाडि लैजान आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“बाटोघाटो बनाएर मात्रै हुँदैन, योसंगै प्रत्येक बालबालिकाको पढ्ने पाउने अधिकार सुनिश्चित हुनुपर्छ, हरेक जेष्ठ नागरीकले खुशी अनुभब गर्न पाउनुपर्छ ।”
अहिलेको सरकारले एक सय भन्दा धेरै काम गरेको बताउादै मुख्यमन्त्री पौडेलले भन्नुभयो– "सुरुङ मार्ग निर्माणको चरणमा छ, हेटौंडामा चिकित्सा शास्त्रको अध्ययन सञ्चालन गरिने गरी शिक्षण अस्पतालको सुरुवात भइसकेको छ, प्रति वर्ष २५ सय प्राविधिक उत्पादन हुनेगरी प्राविधिक महाविद्यालय निर्माण धमाधम भइरहेको छ, सिन्धुली र चितवनमा सामुहिक खेती, जिल्लागत बिषेशताका आधारमा कृषि उत्पादनको लागि काम सुरु भएको लगायत प्रदेशमा थुप्रै कामहरु भएका छन् ।"
मुख्यमन्त्रीले उत्पादित कृषि उपजको भण्डारणका लागि शीत भण्डार निर्माण र बजारीकरणको व्यवस्थाको काम पनि सुरु भएको भन्दै सामुहिक खेतीको अवधारणा ल्याएर काम गरे प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभयो ।
काठमाण्डौ जाने बैकल्पिक मार्गका रुपमा प्रयोग गरिने यो योजना समयमै निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो ।
भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार हेटौडाको करीब २६ करोड लागतमा उक्त सडकखण्ड रमण सगरमाथा जेबी धुम्बाराही काठमाडौले २०७५ मंसिर अन्तिम सातादेखि निर्माण कार्य सुरु गरेको हो ।
२३ किलोमिटर लम्बाइ रहेको उक्त सडकखण्ड आयोजना आर्थिक वर्ष २०७६/७७ को अन्तिमसम्ममा सम्पन्न गरिसक्ने लक्ष्य रहेको छ ।
अनुगमनमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, भिमफेदी गाँउपालिका अध्यक्ष हिदम लामा, भूकम्प पुनर्निर्माण आयोजना कार्यान्वयन इकाईका प्रमुख बिमल किशोर केवी लगायतको सहभागिता रहेको थियो ।