मकवानपुरमा लैङ्गिक हिंसा बिरुद्धको अभियान भव्य रुपमा मनाइने
मकवानपुर जिल्लामा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान भव्य रुपमा मनाउने तयारी गरिएको छ ।
अभियानलाई भव्य रुपमा मनाउने विषयमा सोमबार तयारी बैठक बसेको छ । जिल्ला समन्वय समिति मकवानपुरको सभाहलमा बसेको बैठकले अभियानलाई विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मनाउने निर्णय गरेको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले प्रदेश स्तरमा, जिल्ला स्तरमा र स्थानीय तहमा विभिन्न कार्यक्रम आयोजना गरेर अभियान भव्य रुपमा मनाउने निर्णय गरेको छ ।
बैठकले अभियानलाई भव्य रुपमा मनाउन जिल्ला समन्वय समिति मकवानपुरकी उप प्रमुख भगवती पुडासैनीको संयोजक्त्वमा ५१ सदस्य मुल आयोजक समिति समेत गठन गरिएको छ । समितिमा मकवानपुरका १० वटै स्थानीय तह तथा सरकारी तथा गैरसरकारी संघ संस्थाहरु सदस्य रहेका छन् ।
तयारी बैठकमा स्थानीय तहहरुले स्थानीय तहमै विभिन्न कार्यक्रम आयोजना गर्ने, गैर सरकारी संस्थाले कार्यक्षेत्र रहेको स्थानीय तहसंगको सहकार्यमा कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।
बैठकमा प्रदेश सभा सदस्य जुनेली श्रेष्ठ, मुनु सिग्देल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मिना लामा, बागमति गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, कैलाश गाउँपालिकाकी उपाध्यक्ष सुकुमाया थिङलगायत विभिन्न गैरसरकारी संस्घसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । साझा सन्देशबाट