संविधानमा घोषणा नभएसम्म नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियान जारी रहन्छः पशुपति समशेर जबरा(तस्विरहरु)
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपति समशेर जबराले संविधानमा घोषणा नभएसम्म नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानलाई निरन्तरता दिने बताउनु भएको छ ।
कात्तिक २८ गते देखि जनकपुरबाट सुरु भएको धार्मिक रथ यात्राका क्रममा आज हेटौडा आईपुग्नु भएका जबराले बुद्धचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै हिन्दु राष्ट्र घोषणा गराएरै छोड्ने बताउनुभयो ।
८१ प्रतिशत हिन्दु जनसँख्या रहेको देशमा धर्म निरपेक्षता घोषणा गर्नु न्यायोचीत नभएको उहाँको भनाई छ । अध्यक्ष जबरा हिन्दु राष्ट्र बनाउने अभियान बौद्ध, शिख धर्मावलम्बीको लागि पनि भएको बताउनु भयो ।
राप्रपा संयुक्तका जिल्ला अध्यक्ष ज्ञानेन्द्र राज ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा संयुक्तका केन्द्रिय नेताहरु सुनिल थापा, जगत गौचन, श्याम तिमल्सिना लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा युवा युवतीहरुले विभिन्न सांस्कृति प्रस्तुती समेत प्रस्तुत गरेका थिए ।
हिन्दु राष्ट्र घोषणा गराउने उद्धेश्यले कात्तिक २८ गते देखि जनकपुरबाट सुरु भएको धार्मिक रथ यात्रा मंसिर ४ गते लुम्बिनीमा समापन गरिनेछ ।