फुर्केचौरमा मंसिर ३ गतेदेखि श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने
हेटौंडा १८ फुर्केचौरमा मंसिर ३ गतेदेखि श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञ हुने भएको छ । फुर्केचौरमा रहेको श्री गोरक्षनाथ माविको पाङगणमा आयोजना हुने महायज्ञ १० गतेसम्म चल्नेछ ।
गोरक्षनाथ माविलाई नेपालकै नमूना प्राविधिक शिक्षालय बनाउने उदेश्यले महायज्ञ गर्न लागिएको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शैलेन्द्र बाँनियाले जानकारी दिनुभयो । साथै पितृको उद्दार एवम् प्राणीको कल्याणको लागि महायज्ञ गर्न लागिएको उहँले बताउनुभयो ।
मंसिर ३ गते बिहान १० बजे शोभा कलश यात्रा गरिने छ भने दिउँसो १ बजे प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले महायज्ञको उद्घाटन गर्नु हुने आज हेटौडामा पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
मंसिर ४ गतेबाट दैनिक १०ः३० बजेदेखि ४ः४० सम्म संगीतमय प्रवचन झाकीसहित भक्तीसंगीत हुने बताइएको छ ।
यस्तै हरेक दिन तुलादान, व्रतबन्ध, चौरासी पूजन, दाता सम्मानको कार्यक्रम हुनेछ । १० गते विवाह, ४ बजेपछि समापन गर्दै बेलुकी ५ः३० बजे पूर्णाहूति गरिने आयोजकले जनाएको छ ।
महायज्ञबाट सबै खर्च कटाएर १ करोड रुपैया बच्ने आयोजकको अनुमान छ ।
महायज्ञमा आउने भक्तजनहरुका लागि हेटौंडा–राईगाउँ–छतिवन निःशुल्क बस सेवा समेत संचालन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । महायज्ञ प्रचारप्रसारका लागि भोली बिहान मोटरसाईकल र्याली समेत निकालिने छ ।