प्रदेशको नाम र राजधानी १५ दिनमा टुङ्गीन्छः मुख्यमन्त्री पौडेल
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशको नाम र राजधानी १५ दिनमा टुङिगने बताउनु भएको छ ।
आन्तरिक राजस्व विभागको आयोजना तथा सिस्नुपानी नेपालले प्रस्तुत गरेको करमैत्री यात्रा कार्यक्रममा मुख्यमन्त्रीले अब बस्ने प्रदेश सभामा यसको टुङ्गो लाग्ने जानकारी दिनुभएको हो । उहाँले प्रदेशको राजधानीसंगै प्रदेशको नाम पनि टुंगोमा पुग्ने बताउनुभयो ।
मुख्यमन्त्री पौडेलले कर तिर्नु हरेक नागरिकको कर्तव्य रहेको भन्दै कर तिरेर देश समृद्ध बनाउने अभियानमा सहभागी हुन सबैसंग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– "कर छलि कसैले गर्छ भने त्यो दण्डको भागिदार हुन्छ, यो सबैको दायित्व हो । त्यसैले सबै नागरिकले आफ्नो दायित्व पुरा गर्नुपर्छ । "
करमैत्री यात्रा अभियानको प्रसंसा गर्दै मुख्यमन्त्री पौडेलले यो अभियानले मुलुक निमार्णमा सबैलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेल, भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामा लगायतको आतिथ्यता रहेको कार्यक्रममा सिस्नुपानी नेपालका मनोज गजुरेल, लक्ष्मण गाम्नागे, धिरेन्द्र प्रेमर्सी, शिशिर योगी लगायतले आफ्नो प्रस्तुती राख्नु भएको थियो ।
प्रदेश १ बाट सुरु भएको करमैत्री यात्राको शुक्रबार चितवनमा प्रस्तुती रहने सिस्नुपानी नेपालका सरोज घिमीरेले जानकारी दिनुभयो ।