बालविकासका क्षेत्रमा प्रदेशसंग धेरै अपेक्षा नराख्नुस्ः सामाजिक विकास मन्त्री दुलाल
प्रदेश तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले प्रारम्विक बालविकासका क्षेत्रमा प्रदेश सरकारसंग धेरै खालका अपेक्षा नराख्न आग्रह गर्नुभएको छ ।
सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा आज हेटौडामा भएको प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
बालबालिकाको क्षेत्रमा कानून वनेपनि कार्यान्वयनमा जटिलता रहेको भन्दै उहाँले प्रदेश सरकारलाई बालबालिकाको विषयमा ब्रोसर, अपील, वनाएर टाँस्ने सम्मको मात्रै अधिकार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो– "तीनै तहका सरकारको साझा सूचि छ तर हाम्रो अधिकार भनेको ब्रोसर, अपील, वनाएर टाँस्ने सम्मको मात्रै हो ।"
प्रदेश तीनका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रदेश तीनका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जमकट्टेल, पूर्व सांसद सीता कुमारी पौडेल, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका संस्थापक अगाथा पाख्रिन थापा, राष्ट्रिय सभाका सदस्य डाक्टर विमला राई पौड्याल लगायतको आतिथ्यता रहेको थियो ।
संघीय सांसद सत्य पहाडीको अध्यक्षतामा भएको कार्यक्रममा संघीय तथा प्रदेश सांसदहरु, प्रदेश नीति तथा योजना आयोगका सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।