आरक्ष क्षेत्र र चुरे क्षेत्रमा नयाँ क्रसर खोल्न दिइने छैनः जिसस प्रमुख खुलाल
जिल्लामा मापदण्ड विपरितका करिब २ सय बालुवा प्लाण्ट, क्रसर उद्योगहरु रहेकोमा जिल्ला समन्वय समितीले क्रसर उद्योगहरुलाई आरक्ष क्षेत्र र चुरे क्षेत्रमा नयाँ क्रसर खोल्न नदिन स्थानिय तहलाई निर्देशन दिएको छ ।
स्थानिय तहहरुको प्रमुख आम्दानीको श्रोत ढुंगा गिट्टी वालुवा प्लाण्ट तथा क्रसर उद्योग रहेपनि वातावरणमा नकारात्मक प्रभाव पार्ने देखिएकोले स्थानिय तहलाई नयाँ क्रसर उद्योग खोल्न नदिन निर्देशन दिइएको हो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले समितीको नियमित बैठकमा यस्तो निर्देशन दिनु भएको हो ।
बैठकमा ढुंगा गिट्टी वालुवा अनुगमन समितीको बैठकको निर्णय कार्यान्वयनको पक्ष सहित स्थानिय तहलाई ठेक्का सम्झौता गर्दा विषेश ध्यान दिन, समयमै ठेक्का सम्झौता गर्न, वातावारणीय प्रभाव मुल्याङक समयमै गर्न प्रमुख खुलालले निर्देशन दिनुभयो ।
उहाँका अनुसार नयाँ क्रसरहरु खुल्ने क्रम बढेको हुँदा विषेश गरी स्थानिय तहहरुले आरक्ष क्षेत्र र चुरे क्षेत्रमा नयाँ क्रसर खोल्न नदिन ध्यान दिनुपर्नेछ ।
यसैगरी बैठकमा नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन गाउँपालिका तथा नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा सरसफाइमा ध्यान दिनु पर्ने विषयमा छलफल भएको थियो ।
जिल्ला समन्वय समितीका प्रमुख खुलालको अध्यक्षतामा बसेको बैठकमा समितीकी उपप्रमुख भगवती पुडासैनी, प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, शसस्त्र प्रहरी उपरिक्षक विकास घिमिरे लगायत जिल्लाका १० वटै स्थानिय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता रहेको थियो ।