सामुदायिक विद्यालय स्थापित र नीजि बिस्थापित हुन्छन्ः मुख्यमन्त्री पौडेल

छहारी संवाददाता
कार्तिक २३, २०७६

३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु ल्याएको बताउनुभएको छ ।

विद्यालय सुधार कार्यक्रमको परिणामहरु देखिन थालेकाले नीजि विद्यालयहरु आफै विस्थापीत हुने पनि उहाँको भनाई थियो ।

शुक्रबार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा रहेको सेतीदेबी शारदा माविको नबनिर्मीत भवन उद्घाटन गर्दै उहाँले सामुदायिक विद्यालय स्थापित र नीजि बिद्यालय बिस्थापित हुने बताउनुभयो ।

सामुदायिक बिद्यालय सुधार्न शिक्षकहरुको पहिलो महत्वपुर्ण भुमिका हुने पनि उहाँले स्पष्ट पार्नुभयो । सामुदायिक बिद्यालयमा पढाउने शिक्षकहरुले पनि सामुदायिक विद्यालयको महत्व बुझे परिबर्तन छिट्टै प्राप्त हुने उहाँले बिश्वास ब्यक्त गर्नुभयो ।

यसैगरी उहाँले समानुपातिक बजेट वितरण अव्यवहारिक हुने भन्दै समानुपातिक विकासको अवधारणालाई अवलम्बन गर्न पनि उहाँको सुझाब थियो । उहाँले भन्नुभयो–‘ सबैलाई खुशी पार्ने नाममा हाम्रो बजेट छर्ने परम्परा छ, यो रोक्नुपर्छ ’ ।

मुख्यमन्त्री पौडेलले विकास निर्माण र जनताको सेवाको कार्यलाई संगसंगै लगिरहेको भएकाले कतिपय अवस्थामा सरकारको काम अदृश्य भएको भन्दै परिणाम देखिने बेला आउदै गरेको बताउनुभयो ।

‘राजनीतिक व्यवस्था परीवर्तन भएपनी आफै परीवर्तन भएनौ, काम गर्ने शैली परीवर्तन नभएर हामी अगाडि बढ्न गाह्रो भैरहेको छ’ उहाँले भन्नुभयो । पौडेलले कृषिलाई प्रदेश सरकारले पहिलो प्राथमिकतामा राखेको बताउदै प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन बजार, प्रशोधन स्थल, बिक्री केन्द्र जस्ता आवश्यकताहरुको तत्काल परिपूर्ति गरिने बताउनुभयो ।

उहाँले नेपालमा नै रोजगारको अवसर प्राप्त हुन थालेको भन्दै हरेक नागरिकहरु आफै उत्पादन बृद्धि गर्ने बाटोतर्फ लाग्नुपर्ने बताउनुभयो । सरकारले पनि  रोजगार र उत्पादनलाई विशेष रुपमा ध्यान दिएको उहाँले बताउनुभयोे ।

यसैगरी प्रदेशले युवालाई स्वरोजगार बनाउने उद्देश्यले एक स्थानीय तह एक उद्योगग्राम खोल्ने बताउनुभयो । सरकारले यूवालाई उद्यममा जोडेर, उत्पादनमा लगाउने अभियान सुरु गरिसकेको पनि जानकारी दिनुभयो ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले कृषि उत्पादनका लागि बजार खोजिदिने प्रतिबद्धतासमेत ब्यक्त गर्नुभयो । शुक्रबार नै मुख्यमन्त्री पौडेल सिन्धुपाल्चोकमा आयोजित बिभिन्न कार्यक्रमहरुमा समेत सहभागि हुनुभएको थियो ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*