सामुदायीक वनमा लगाइएको कर जायजः वनमन्त्री अरुण नेपाल
प्रदेश तीनका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले सामुदायीक वनमा लगाइएको कर जायज भएकाले नहट्ने बताउनु भएको छ ।
वन, उद्योग लगायतका क्षेत्रबाट कर संकलन गरेर नै राज्य संचालन हुने भन्दै मन्त्री नेपालले सामुदायीक वनमा कर लगाउने अधिकार प्रदेशलाई रहेको स्पष्ट पार्नुभयो ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपालले आज हेटौडामा आयोजना गरको सामुदायीक वनको समस्या र सम्भवना विषयक अन्तरसंवाद बोल्दै मन्त्री नेपालले मन्त्रीको हैसियतले यसको सम्पूर्ण जिम्मेवारी आफुले लिने समेत बताउनुभयो ।
उहाँले ऐन भर्खरै कार्यान्वयनमा आएको भन्दै सामुदायीक वनको मर्म विपरित भएको भए केही समयको परिक्षणपछि सरोकारवालासंग छलफल गरेर संशोधन गर्न तयार रहेको समेत बताउनुभयो ।
उहाँले सामुदायीक वनले परम्परागत सोच त्यागी नविनतम ढंगबाट यसको सदुपयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति रमा आले मगरले आफुहरुले पनि तेहेरो करको विषयमा समितिमा धेरै छलफल गरेको बताउँदै यसलाई एकद्वार प्रणालीमा लैजानु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मुनु सिग्देलले सामुदायीक वनमा लगाइएको करको समस्या समाधानमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिनुभयो ।
सामुदायीक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकको सभाध्यक्षतामा भएको कार्यक्रममा सामुदायीक वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य शान्ता न्यौपाने, प्रदेश तीन अध्यक्ष विनोद सापकोटा, सदस्य रामहरी चौलागाई, डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल, डिभिजन कार्यालय राप्तिका प्रमुख दिर्घ नारायण कोइराला, फेकोफन मकवानपुर अध्यक्ष साधुराम चौलागाई लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सहभागीहरुले राज्यले सामुदायिक वनमाथि लगाएको तेहेरो कर खारेज गर्नुपर्ने, राज्यले समय समयमा अनावश्यक रुपमा निर्देशिका मार्फत लगाईने बन्देजहरु खारेज गर्नुपर्ने लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए ।