विन्दवासिनीलाई एसीड छ्याप्ने केशरी साढे ६ वर्ष पछी पक्राउ
हेटौंडाको मेनरोडकी विन्दवासिनी कंशाकारलाई एसीड छ्याप्ने राज भनिने दिलीपराज केशरी साढे ६ वर्ष पछी पक्राउ परेका छन् ।
२०७० साल बैशाख ९ गते विन्दवासीनीलाई एसीड प्रहार गरी भागेका केशरी भारतमा लुकेर वसेको जिल्ला प्रहरी कार्यालएका डिएसपी यज्ञ प्रसाद भट्टराइले जानकारी दिनुभयो ।
हेटौँडामा बस्दै आएका केशरीले आफ्नै पसलमा बसिरहेकी विन्दवासिनीलाई एसिड प्रहार गरी फरार भएका थिए । बारा प्रहरीको सक्रिएतामा पक्राउ परेका उनलाई आज जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका भलोहीमा लुकिछिपि बसेको केशरीलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा बाराका प्रहरी नायव निरीक्षक सागर शम्सेर जवरासहितको टोलीले बिहिबार राति ९ बजे पक्राउ गरेको हो ।
भारत महाराजगंज अमरपुर्वन वडा नम्बर ६ का केशरीलाई अहिले जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । ज्यान मार्ने उद्योगमा मुद्धा चली फरार रहेका उनलाई ५ बर्षदेखि १२ बर्ष कैद हुने व्यवस्था छ ।
आज केशरीलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै गर्दा विन्दवासिनीले तेजाव आक्रमण गर्नेलाई आजिवन कारावासको सजाय हुनुपर्ने माग गर्नु भएको छ । साथै आफ्नो उपचारमा लागेको ८० लाख रुपैया पनि पिडकबाट भराउन माग गर्नु भएको छ ।