अाज माझी गोल्डकप खेलमा सर्लाही र सुनसरी विजयी

छहारी संवाददाता
कार्तिक ६, २०७६

मकवानपुरको बकैया गाउँपालिकाको जुरेलीमा जारी प्रथम राष्ट्रिय माझी गोल्डकप अन्तर्गत आजको खेलमा सर्लाही र सुनसरी विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा सर्लाही र दोस्रो खेलमा सुनसरी विजयी बनेको प्रथम राष्ट्रिय माझी गोल्डकपका खेल संयोजक श्यामसुन्दर माझीले जानकारी दिए ।
आजको पहिलो खेलमा सिन्धुपाल्चोकले आत्मघाती गोल गरेपछि १–० को गोल अन्तरमा सर्लाही विजयी भएको हो । यससँगै सर्लाहीको जर्सी नं. ९ का अजय कुमार माझी म्यान अफ द म्याच भए ।

त्यस्तै आज भएको दोस्रो खेलमा मकवानपुर रातोलाई २–० गोल अन्तरले पराजित गर्दै सुनसरी विजयी भएको छ । सुनसरीका लागि जर्सी नं. ७ का देवकुमार माझीले खेलको २६औं मिनेटमा र जर्सी नं. ११ का सनम माझीले खेलको ३६औं मिनेटमा गोल गरेका थिए । सुनसरी बिरुद्ध खेलेको मकवानपुर रातोले गोल फर्काउन सकेन । यससँगै देवकुमार माझी म्यान अफ द म्याच भए ।

प्रतियोगिता अन्तर्गत भोली बुधबार पहिलो खेल मकवानपुर बकैया नीलो र नुवाकोटबीच हुनेछ । त्यस्तै, भोलीको दोस्रो खेल सर्लाही र सिन्धुलीबीच हुनेछ ।

माझी उत्थान संघ, मकवानपुरको आयोजनामा सञ्चालित प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट १७ वटा टिम सहभागी भएका छन् । कात्तिक ९ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ तथा दोस्रो हुने टिमले नगद ५० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

जिल्लाका विभिन्न स्थानीय तह तथा नीजि संस्थाहरुबाट आर्थिक सहयोग जुटाई सञ्चालन भइरहेको प्रतियोगिताका लागि मकवानपुरका शिक्षासेवी तथा खेलप्रेमी पुरन बहादुर जोशीले १ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । खेल अवलोकन तथा आजको कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहणका लागि आज जुरेलीमा पुगेका उनले जातीय पहिचानका लागि भइरहेको माझी जातीको महत्वपूर्ण कार्यक्रमका लागि भन्दै सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रथम राष्ट्रिय माझी गोल्डकपका आर्थिक समिति संयोजक लक्ष्मी माझीले जानकारी दिइन् ।

स्राेत पहिलाे समाचार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*