निशुल्क औषधिको पैसा असुल्ने शाह मेडिकल शिल(तस्विरहरु)
सरकारी स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गरिने औषधि बेचेको पाइएपछि हेटौंडा २ स्थित शाह मेडिकल हलमा शिलबन्दी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहदेव आचार्य र हेटौंडा उपमहानगरपालिकाका नगर स्वास्थ्य समन्वय इकाईका प्रमुख सुपेन्द्र कार्कीको नेतृत्वमा गएको अनुगमन टोलीले मेडिकलमा शिलबन्दी गरेको हो ।
मेडिकलले झाडा पखाला लागेको समयमा प्रयोग गरिने शक्तिजल नामको औषधिमा नेपाल सरकारबाट निशुल्क वितरण गरिने भनि लेखिएकोलाई कालो रंगको मार्करले केरेर प्रतिगोटा १० रुपैयाँका दरले बेचेको पाइएको हो ।
अनुगमनका क्रममा निशुल्क वितरण गरिने अन्य चार प्रकारका औषधि पनि बरामद गरेको छ । यस्तै मेडिकलले अनुमति बिना विरामीलाई भर्ना गरेर उपचार समेत गरेको पाइएको छ ।
औषधि मात्र बेच्ने गरि अनुमति लिइएको मेडिकलले अनुमति विना क्लिनिक समेत संचालन गर्दै आएको पाइएको हो । अनुगमन टोली पुग्दा झण्डै आधा दर्जन विरामीलाई भर्ना गरेर उपचार गरिरहेको पाइएको थियो ।
उक्त मेडिकलमा नेपाल सरकारले निशुल्क वितरणका लागि पठाइएको डाइजिन, आइ ड्रप लगायतका केही औषधि बिक्रि गरिरहेको पाइएको छ । मेडिकल संचालक अशोक शाहले आफु सरकारले वितरण गरेको औषधीको डिलर भएको बताएका छन् ।