महिला स्वतन्त्रता भन्छौ, व्यवहारमा कहाँ छ?

छहारी संवाददाता
कार्तिक २, २०७६

सरिता दाहाल / राति अबेर सुतेकाले मेरा आँखा उघ्रन मानिरहेका थिएनन्। शरीर झन् पटक्कै उठ्न मानिरहेको थिएन।

पूरै शरीर बेपत्तै दुखिरहेको थियो। अक्सर यस्तै हुन्छ। बिहान ओछ्यान छाड्न तन मान्दैन। मन चाहिँ दौडेर फिल्डमै निस्क भन्छ। बिस्तारै आँखा खोले। धर्तीमा उज्यालो छरपस्ट पोखिइसकेको थियो।

मोबाइल तानेर समय हेरेँ। पाँच बजेछ। मोबाइलको स्क्रिनमा म्यासेज देखेँ–एकजना जनप्रतिनिधि महिलाको रहेछ।

‘सरिताजी! सन्चै हुनुहुन्छ? तपाईंले राम्रोको लागि दिदीबहिनीको समाचार त बनाउनुभयो, तर त्यसले गर्दा घरमा त तनाव भएको छ। पुरुषको सोच बदल्न कहाँ सकेका छौं र हामीले!’

फोन नम्बर परिचित थियो। हतारहतार कल गरेँ, फोन उठेन। त्यसपछि टेक्स्ट म्यासेज पठाएँ, ‘किन भो र ?’ लगत्तै बिहानको नित्यकर्ममा लागेँ।

दुई दिनअघि एउटा फिचर लेखेको थिएँ। फिचरको सार थियो– वर्ष दिनमा आउने दसैं पर्वमा महिलालाई भ्याइ–नभ्याइ हुन्छ, कामको अत्यधिक चाप हुन्छ।
चाडपर्वमा थप कामको भारले थकित महिला पुरुषसरह खुलमखुला रमाइलो गर्नै भ्याउँदैनन्।

घरमा आउने पाहुनाको सत्कार, खाना बनाउने, खुवाउने र सरसफाइको काम अन्य समयभन्दा दोब्बर÷तेब्बर बढी हुन्छ।
महिलाको मन पनि रमाइलो गर्न चाहन्छ। तर, कामको चाप थपिएपछि रमाइला थाँती राखेर काममै रमाइलो मान्छन् महिलाहरू।
घरभित्रका काममा पुरुष हम्मेसी सहभागी हँुदैनन्। पर्वमा आपसी भेटघाट, खेल र खानपिन पुरुषका लागि माहोल बनेर आउँछ भने महिलाको व्यस्तता थपिन्छ।

यस्तै पृष्ठभूमिमा लेखिएको उक्त फिचरमा भनाइ ‘कोट’ गरिएपछि एक महिलाको घरमा श्रीमान् र श्रीमतीबीच भनाभन भएछ। त्यो भनाभन स्थानीय जनप्रतिनिधिसम्म पुगेछ।

जनप्रतिनिधिले त्यो झगडा तत्कालका लागि सुल्झाउनु भएछ। समाचारबाट नाम र भनाइ हटाउन लगाउँछु भनेर सम्झाउनु भएछ। त्यसपछि मलाई म्यासेज गर्नुभएको रहेछ।

बिहान ७ बजे उहाँ (जनप्रतिनिधि) को फोन आयो, अनि थाहा भयो यी सारा कुरा। मनमा कताकता छटपटी भइरह्यो।
चाडपर्वका बेलामा घरायसी वातावरण झनै बिगारँे भनेर आफैंलाई असह्य भएर आयो। चाडपर्वका बेला घरमै जान नि मन लागेन। फोनमा केही कुराकानी भए। मन मानेन, फेरि घरमै भेट्न गएँ।

उहाँको श्रीमान् एउटा सरकार कार्यालयका अधिकृत तहका कर्मचारी। मलाई देख्नासाथ खुसी नै जस्तो देखिनुभो। सामान्य अवस्थामा जस्तो देखेपछि म पनि अलि सम्हालिएँ। उनको श्रीमतीको आँखाले भनिरहेको थियो,‘अहिले कुरै नकोट्याऔं।’

केही बेर बसेँ। मैले आफू यही बाटो हुँदै जाँदै गर्दा सम्झेर पसेको भन्दै बहाना बनाएँ। कुरो कोट्याउनै मानिनन् महिलाले।

निस्कँदै गर्दा बाटोसम्म सँगै आउँदै महिला भनिन् ‘मन खोलेर बोल्ने हक कही छैन, तिनका (श्रीमान्) इज्जत हामीले धानिदिनुपर्ने।’
‘उनीहरू नै हामीलाई घरेलु कामधन्दामा सघाउँदा आयु छोटिन्छजस्तो गर्छन्, हामीले घर र अफिस पनि धान्नुपर्ने।

त्यसैमाथि मनको बह पोख्न नि नपाउनु, भएको कुरा बोल्न पनि नपाउनु, मैले बोलेकै कुरालाई सकारात्मक लिएर सहयोग गर्लान् भन्ने थियो, झन् समस्या बन्यो,’ उनले थपिन्।

खासमा ‘आफ्नो घरमा परिवार र पाहुनालाई पकाएर खुवाएको, घरको कामले भ्याइ–नभ्याइ भएको कुरा पनि दुनियाँलाई भन्नुपर्छ त?’भन्दै रिसाएका रहेछन उनका श्रीमान्।

श्रीमती र बुहारीलाई सधैँ घरको सारा बन्दोबस्त भ्याएर अफिस भ्याउदा कत्तिको सहज वा असहज होला भनेर मनन नगर्ने यी पुरुषहरू ‘श्रीमती र आमाले हामीलाई गाह्रो भो’ भन्दा आकाशै खसेजसरी तर्सनुपर्ने चाहिँ किन होला? मैले सोचिरहेँ।

मलाई अर्को यस्तै घटनाको याद आयो। महिलाको सवालमा अर्को फिचर लेखेकी थिएँ। किशोरावस्थामा हुने विवाहको कारण महिलाको सामाजिक जीवन नै गुमेकोबारे।

किशोरावस्थामा भएको विवाहको कारण व्यक्तित्व निर्माणमा पुगेको असरबारे खोजमूलक फिचर छापिएको थियो नेपालन्युज अनलाइनमा।

शीर्षक थियो– सानैमा घरपरिवारले थिच्यो, पढ्ने/लेख्ने रहरमात्रै भयो। समाचारको सार थियो–किशोरावस्थामा हुने विवाहले पढाइ रोकियो, पढाइ रोकिनाले सामाजिक जीवन, सामाजिक नेतृत्वको अवसर भएन।

पढ्ने लेख्ने, सामाजिक भूमिकामा आउने कुरा रहरमै सीमित भयो भन्ने। समाचारमा केही यस्ता महिलाको भनाइ कोट गरिएको थियो जो सानो उमेरमा विवाह गरेपछि आफ्नै घरायसी निर्णयमा पनि पछाडि रहँदै आएका छन्।

श्रीमान्/श्रीमतीलाई एकै रथका दुई पांग्र्रा भनेर परिभाषित गरेको सुनिन्छ, तर त्यो व्यवहारमा सबैतिर पटक्कै छैन।

उक्त समाचार प्रकाशित भएपछि पनि नाम र फोटो हटाउन उनीहरूका छोराहरूले आग्रह गरेका थिए। महिलाको विषयमा कलम चलाउन धेरै सोचविचार पुर्‍याउनुपर्छ।

धेरैजसो पत्रकार महिलाको सवाल उठाउन झन्झटिलो मान्छन्। त्योभन्दा बरु नेताको कुरो लेख्यो आनन्द। मिडियामा पनि तिनै नेताका सवाल ब्यानर बनेर आउछन्। महिलाका मुद्दा सकेसम्म पछाडि नै।

समाचार संकलनका क्रममा पनि महिलाको विषय उठान गर्न बढी नै झन्झट व्यहोर्नु पर्छ धेरैजसो। उनीहरूको परिवारलाई मनाउनुपर्ने, बुझाउनुपर्ने, अनुमति नदिए समाचार मार्नुपर्ने। सामान्यभन्दा सामान्य कुरामा पनि अनुमति लिनुपर्छ महिलाले। जागिर खान दिएको छु, समाजमा हाँसेर/हिँड्न पाएकी छन् योभन्दा के चाहियो भन्ने श्रीमान् धेरै छन् आज पनि।

‘जागिरे महिलाको मनभित्र सल्केको आगो निको पार्ने दबाई छैन,’ एक अधिकारकर्मीले भनिन्,‘दिनभर अधिकार, अधिकार भनेर फलाक्छौं, साँझ आफ्नो अधिकार के भनेर भुल्नुपर्छ, नत्र भएको घरपरिवार टुट्छ।’

अर्को घटनाको याद आयो।

महिलाको संघर्षको कथा खोजिरहेकी थिएँ ताकि कुनै महिलाले आफ्नो जीवनकालमा गरेको संघर्ष अनि उसको सफलता पढेर अरु महिलाको हिम्मत जागोस्। बुझ्दै जाँदा एक महिलाको नाम सुनेँ।

सौतेनी आमाको करकरमा पढ्न नपाएकी अनि ९ वर्षकै उमेरमा बिहे भएको। ३० वर्षका उनका श्रीमान्। बिहेपछि श्रीमान्लाई यौन सन्तुष्टि दिन नसकेको भन्दै श्रीमान्को घरबाट निकालेको।

घर गरेर (रिझाएर) खानुपर्छ भन्दै माइतीमा बस्ने अवसर नमिलेको। सानिमा (आमाको बहिनी) पर्नेकोमा बसेर चोया, पराल, खोस्टाबाट डोको, गुन्द्री चकटी बनाउन सिकेर आफ्नो लुगाफाटो र टीका धागो जोहो गर्दै अगाडि बढेकी।

दुई–चार पैसा कमाउन थालेपछि श्रीमान्को घरमा प्रवेश पाएकी। तर, एक साता राखेपछि फेरि श्रीमान्ले पिटेर निकाल्ने गर्थे रे! आक्कल–झुक्कल श्रीमान्को घरमा बस्ने बढीजसो सानिमाकै घरमा।

१४ वर्षकै उमेरमा छोराकी आमा भइन् उनी। त्यही छोरो ६ वर्षको हुँदा श्रीमान्को मृत्यु भयो। छोरो हुर्काउन धेरै संघर्ष गरिन् उनले।
पढाइमा छोरो अब्बल भयो। अहिले हेटौंडामा एउटा सरकारी कार्यलयमा प्रमुख छन्। ती ८७ वर्षीय आमाको जीवनकथा लेख्न खोजेँ, आमा मान्नुभएन। कारण थियो–छोराको असहमति।

आमाको संघर्षको कथा पढेर धेरैले प्रेरणा लिनेछन् भन्ने लागेको थियो। तर, उहाँको छोराले नै त्यो कथा बाहिर ल्याउन मान्नु भएन। कथा गर्भमै रह्यो।

हामी परिवर्तन देख्छौं। तर, देख्दैनै परिवर्तनको खोलभित्रको पीडा। आजपनि श्रीमान्को खटनबिना आफ्नो आवश्यकताको सामग्री किन्ने हिम्मत राख्दैनन् आज पनि धेरै महिला।

श्रीमानको अनुमतिबिना घरैछेउको चौतारोसम्म पुग्ने हिम्मत थोरै महिलाको हुन्छ। महिलाको नाममा अहिले टोलटोलमा टोल विकास समिति बनेको छ, त्यहाँ महिलाले मासिक बचत गर्छन्। त्यो बचतले घरमा आइपर्ने धेरै प्रकारका गर्जो टार्छ तर, त्यही बचत गर्न पनि महिलालाई श्रीमान्ले रोकेको भेटिन्छ।

मलाई सोध्न मन लाग्छ–स्वतन्त्रताको अधिकार भन्छौ, व्यवहारमा कहाँ छ?

निगाहाजसरी श्रीमान्, ससुरा, दाजुभाइ, बुवा र आफ्नै छोराले ‘दिएको’ अधिकारको परिधिभित्र कति महिलाले स्वतन्त्रता उपभोग गरेका होलान्? कहाँ छ–त्यसको लेखाजोखा ?

नेपाल न्युजबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*